वीरगन्ज –
वीरगन्ज महानगरपालिका वडा नं. १७, अलौमा आज दिउँसो भएको एक दुखद् सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
दिउँसो करिब ४:१० बजे वीरगन्जबाट अलौतर्फ जाँदै गरेको लु.५ च. ८१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना. ७ ख. ९४२९ नम्बरको टिपरले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक पर्सा,वीरगन्ज महानगरपालिका वडा नं. १६, नगवा टोलका २२ वर्षीय छोटु साह सोनार गम्भीर घाइते भएका थिए। टाउको र छातीमा गहिरो चोट लागेका उनलाई तत्काल नीलकण्ठ अस्पताल, पावर हाउस, वीरगन्जमा उपचारका लागि पठाइएको थियो। तर, उपचारका क्रममा दिउँसो ४:२० बजे उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

सोही मोटरसाइकलमा पछाडि सवारवीरगन्ज महानगरपालिका वडा नं. २९, रतनपुर टोलका २९ वर्षीय शुकुरुला अंसारी पनि घाइते भएका छन्। उनको कम्मर र दुवै खुट्टामा चोट लागेको छ। हाल उनको नेशनल मेडिकल कलेज, वीरगन्जमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनापछि प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटिएको टोलीले मोटरसाइकल, टिपर र टिपर चालक बारा, कलैया उपमहानगरपालिका वडा नं. १६ बस्ने ३२ वर्षीय कृष्ण प्रसाद पटेललाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय श्रीपुर, पर्सा पठाइएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएर अनुसन्धान जारी राखेको छ।