२०८२ असार १८ गते, बुधबार ११:४७

काठमाडौं –

भिजिट भिसाको आवरणमा भएको मानव तस्करी प्रकरणले देशको राजनीति तातिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुखको संलग्नतासँगै गृह मन्त्रालय र गृहमन्त्री रमेश लेखकको भूमिकामाथि गम्भीर प्रश्न उठिरहेका बेला, मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नरहेको दाबी गरेको छ।

शनिवार जारी विज्ञप्तिमा गृह मन्त्रालयले घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर आएका समाचारलाई ‘कपोलकल्पित, भ्रामक र आधारहीन’ भन्दै खण्डन गरेको छ। मन्त्रालयले देशमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न गृह प्रशासन प्रतिबद्ध रहेको र अपराध तथा अनियमितता विरुद्ध शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारेको छ।

त्यसै दिन गृहमन्त्री लेखकले सार्वजनिक रूपमा दुई-चार दिनमै घटनाबारे खुलासा गर्ने घोषणा गर्दै भने, “धेरै कुरा थाहा पाइसकेको छु।” यता, नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भने लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सार्वजनिक सुझाव दिएका छन्।

यसबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन प्रमुखको छानबिन अगाडि बढाइसकेको छ। मन्त्रालयले आयोगको अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ।

राजनीतिक र प्रशासनिक वृत्तमा चासोको विषय बनेको यो घटनाले सरकारको नैतिक धरातलमाथि गम्भीर प्रश्न उठाइरहेको छ। अब हेर्न बाँकी छ, मन्त्री लेखकले ‘धेरै कुरा’ खुलासा गर्दा के के बाहिरिन्छ र त्यसले सरकारलाई कहाँसम्म पुर्‍याउँछ।

 

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस