काठमाडौं –
नेपालमा फेरि कोरोनाभाइरसको नयाँ लहर देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक जना र धुलिखेल अस्पतालमा छ जना गरी कुल सात जनामा सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका निर्देशक डा. चन्द्रबल झाले सङ्क्रमितहरूको विदेश भ्रमणको इतिहास नभएको र सबैलाई डिस्चार्ज गरिसकिएको बताए। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हालको भेरियन्ट सामान्य रहेको र पहिलेजस्तो त्रासको अवस्था नरहेको जनाएको छ। यद्यपि, जोखिमलाई मध्यनजर गर्दै सीमा नाकाहरूमा हेल्थ डेस्क स्थापना गरिएको र सातै प्रदेशलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

स्वास्थ्य विज्ञहरूले मास्क लगाउने, भिडभाडमा नजाने र नियमित हात धुने जस्ता सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। दीर्घरोगी, बालबालिका र वृद्धहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।