वीरगन्ज –
नेकपा एमाले वीरगन्ज महानगर कमिटीको बैठक मंगलबार सम्पन्न भएको छ। आगामी जेठ १५ गते गणतन्त्र दिवसलाई सभ्य र भव्य रूपमा मनाउने विषयमा बैठकमा विस्तृत छलफल भएको छ।
महानगर कमिटीका अध्यक्ष नवराज शर्माको नेतृत्वमा बसेको बैठकमा गणतन्त्र दिवसको अवसरमा मोटरसाइकल र्याली आयोजना गर्ने र नारायणी अस्पतालमा बिरामीहरूलाई फलफूल वितरण गर्ने कार्यक्रम तय गरिएको छ। साथै, सोही दिन नारायणी अस्पतालको अवस्था अध्ययन गर्ने योजना पनि बनाइएको छ।

अध्यक्ष शर्माले सम्पूर्ण कार्यक्रमको तयारीका लागि कमिटीका सदस्यहरूलाई तयार रहन आह्वान गरेका छन्। यस विषयमा थप विस्तृत छलफल र अन्तिम निर्णयका लागि भोलि बुधबार पुनः महानगर कमिटीको बैठक बस्ने जानकारी उनले दिए।
बैठकमा एमालेका नेता विचारी यादव, केन्द्रीय सदस्य अरबिन्द सिंहलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कमिटीले गणतन्त्र दिवसलाई जनस्तरमा उत्सवमय बनाउन र गणतन्त्रको महत्वबारे जागरूकता फैलाउन जोड दिने जनाएको छ।