काठमाडौँ-
गाजा शहरको अल–अहली अरब अस्पतालको आँगनमा इजरायली हवाई आक्रमणमा तीन प्यालेस्टिनी पत्रकारको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । इजरायली रक्षा बलले उक्त आक्रमणले उक्त स्थानमा रहेको इस्लामिक जिहादका एक कार्यकर्तालाई लक्षित गरेको बताएको छ । स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूले अस्पतालको आँगनमा भेला भएका पत्रकारहरूको समूहमाथि अचानक आक्रमण गर्दै इजरायली ड्रोनले कम्तिमा एउटा मिसाइल प्रहार गरेको बताएका छन् ।
अल–अहली अस्पतालका निर्देशक फदेल नईमले बताएअनुसार हवाई आक्रमणमा तीन पत्रकारको तुरुन्तै मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् र शल्यक्रिया गरिएको छ । स्थानीय अधिकारीहरूकाअनुसार युद्ध शुरु भएदेखि गाजामा मारिएका पत्रकारहरूको कुल संख्या २ सय २५ पुगेको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूले मार्च १८ मा इजरायलले आफ्नो सैन्य अभियान तीव्र पारेदेखि कम्तिमा ४ हजार ४ सय २ प्यालेस्टिनीहरू मारिएका र १३ हजार ४ सय ८९ घाइते भएको बताएका छन् ।

अक्टोबर २०२३ मा युद्ध शुरु भएदेखि गाजामा कुल मृत्यु हुनेको संख्या ५४ हजार ६ सय ७७ पुगेको छ । जसमा १ लाख २५हजार ५ सय ३० जना घाइते भएका छन् ।