काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरको वर्षा र बाढीका कारण उत्पन्न मौसमजन्य विपद्को जोखिमप्रति गम्भीर चासो व्यक्त गर्दै सरकार उद्धार र राहत कार्यमा उच्च सतर्कताका साथ सक्रिय रहेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले विपद् व्यवस्थापन विभागलाई ‘हाई अलर्ट’ मा राखिएको र सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरू आवश्यक उपकरण र साधनसहित उद्धार कार्यमा खटिएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले विपद् सम्भावित क्षेत्रमा खटिएका सुरक्षा निकायहरूसँग समन्वय गर्न सबैलाई आग्रह गर्दै सम्बन्धित सम्पर्क नम्बरहरू सार्वजनिक भइसकेको जानकारी दिए। उनले भने, “हामी सबैको सुरक्षा र कल्याणका लागि सरकार प्रतिबद्ध छ, र विपद्को सामना गर्न समन्वयात्मक प्रयास जारी छ।”
यसैबीच, भोटेकोशी लगायतका नदीमा आएको बाढीले रसुवा, सिन्धुपाल्चोक र अन्य क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापना कार्यलाई तीव्रता दिएको छ।