ब्रुकिङ्स, दक्षिण डकोटा-
अमेरिकाको दक्षिण डकोटास्थित साउथ डकोटा स्टेट युनिभर्सिटी (SDSU) मा यही असार २५ गतेदेखि अन्तर्राष्ट्रिय साप्ताहिक पत्रिका सम्पादकहरूको सम्मेलन (International Society of Weekly Newspaper Editors – ISWNE) सुरु भएको छ। स्थानीय समाचारपत्रहरूको भविष्य, चुनौती र नवप्रवर्तनमा केन्द्रित यो सम्मेलनमा नेपालबाट वरिष्ठ पत्रकार दीपेन्द्र चौहान जन समीक्षा साप्ताहिकका अतिथि सम्पादकका रूपमा एकमात्र नेपाली प्रतिनिधिको सहभागिता रहेको छ।

नेपाल पत्रकार महासंघका पूर्व सचिव तथा विश्व पत्रकार महासंघका संयुक्त सचिव चौहानले नेपालको ग्रामीण पत्रकारिताका सवाल र समकालीन अवस्थालाई विश्व मञ्चमा प्रस्तुत गर्ने अवसर प्राप्त गरेका छन्। सन् १९५५ मा स्थापना भएको ISWNE को उद्देश्य सम्पादकीय लेखनमा उच्च मापदण्ड कायम गर्नु, विचार आदान–प्रदानको मञ्च प्रदान गर्नु र विश्वभर प्रेस स्वतन्त्रता प्रवर्द्धन गर्नु हो। अमेरिका, क्यानडा, बेलायत, आयरल्यान्ड, फ्रान्स, अष्ट्रेलिया, दक्षिण अफ्रिका र नेपाललगायतका देशबाट यो संगठनमा सदस्यता रहेको छ।
सम्मेलनको उद्घाटन SDSU का अध्यक्ष ब्यारी डन, पत्रकारिता तथा सञ्चार विभागका निर्देशक जोशुवा वेस्टविक, र साउथ डकोटा न्यूज मिडिया एसोसिएसन (SDNA) का मोली म्याकरोबर्ट्स र डेविड बोर्डेविकले संयुक्त रूपमा गरेका थिए। उद्घाटनपछि आयोजित “South Dakota’s Changing Journalism Landscape” विषयक प्यानल छलफलमा अमेरिकी ग्रामीण पत्रपत्रिकाको बदलिंदो स्वरूप, स्थानीय समुदायको भूमिका र डिजिटल युगमा साप्ताहिक पत्रिकाहरूले सामना गरिरहेका चुनौती र सम्भावनाहरूबारे गहन बहस भयो।
SDSU को विद्यार्थी–समाचारपत्र ‘द कलेजियन’ले पाठकसँगको सम्बन्ध विस्तार, डिजिटल माध्यममा उपस्थिति र युवाहरूलाई पत्रकारितामा आकर्षित गर्ने रणनीतिबारे आफ्ना अनुभव प्रस्तुत गर्यो।
चौहानले सम्मेलनलाई नेपालजस्ता मुलुकका लागि महत्वपूर्ण अवसर ठान्दै भने, “विश्वभरका पत्रकारहरूसँग प्रत्यक्ष संवाद, अनुभव आदान–प्रदान र पत्रकारिताका चुनौतीहरू बुझ्न यो मञ्च निकै उपयोगी छ।” उनले नेपालको ग्रामीण पत्रकारिताको अवस्था र सम्भावनालाई विश्वसामु राख्न पाएकोमा सन्तोष व्यक्त गरे।
असार २९ सम्म चल्ने सम्मेलनमा विश्वका साप्ताहिक पत्रिकाका सम्पादक र पत्रकारहरू सहभागी छन्।