♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं-
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथि घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सत्तापक्ष र प्रतिपक्षबीच तर्कवितर्क चर्किएको छ। सामाजिक सञ्जालमा सर्वसाधारणले भ्रष्टाचारको आरोप लगाउँदै सरकारको आलोचना गरेका छन् भने प्रतिपक्षी दलहरूले कडा विरोध जनाएका छन्। उक्त अडियो प्रकरणमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारी पनि जोडिएका छन्। दुवै मन्त्री नेकपा (एमाले) का हुन ।

नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ले घुस काण्डमा मुछिएका मन्त्रीहरूले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। शनिबार एक पत्रकार सम्मेलनमा उनले मन्त्रीहरूले राजीनामा नदिए प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गर्नुपर्ने माग गरे। “मन्त्रीहरूको वार्तालाप नै मिडियामा बाहिरिएको छ। यसले सरकारमाथि चुनौती थपिएको छ। मन्तत्रीहरूले नैतिकता देखाउनुपर्छ र राजीनामा दिनुपर्छ, नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ,” रसाइलीले भने। उनले सरकारको एक वर्षे कार्यकाल उत्कृष्ट नभए पनि पूर्ण असफल नभएको र केही मन्त्रीमा सुधारको हुटहुटी देखिएको बताए।
यता, एमाले नेता तारा लामा तामाङले सरकारले गलत काममा कसैलाई संरक्षण नगरेको र दोषी ठहरिएमा मन्त्रीहरूमाथि कारबाही हुने दाबी गरे। “मन्त्रीज्यूले ‘मेरो होइन’ भनिरहनुभएको छ। सत्यतथ्य बाहिर आएपछि दोषीमाथि कारबाही हुन्छ,” उनले भने। तामाङले ओली नेतृत्वको सरकारले अर्थतन्त्रलाई सही दिशामा ल्याएको, लगानीमैत्री वातावरण बनेको, ३० अर्बभन्दा बढी दायित्व भुक्तानी गरेको र अर्थतन्त्रका १८ सूचक सकारात्मक रहेको दाबी गरे।
फरक प्रसङ्गमा, रसाइलीले नेपाली कांग्रेसमा संस्थापन पक्षले शेखर कोइराला र गगन थापा समूहका २३ नेतालाई खोजी–खोजी अनुशासनको कारबाही गरेकोमा असहमति जनाए। उनले पार्टीको अनुशासन समितिले पूर्वाग्रह राखेर कारबाही गरेको र यो फिर्ता हुनुपर्ने माग गरे। “आफ्ना समूहका नेतालाई चोख्याउने र असहमत नेतालाई किनारा लगाउने षड्यन्त्र भएको छ,” उनले भने।
सामाजिक सञ्जालमा मन्त्री गुप्तामाथि ५३ लाख र २५ लाखको घुस डिल गरेको, नोटका नम्बरसहित अख्तियारमा उजुरी परेको र गुप्ताले अधिकारीलाई समेत पैसा लिएर काम नगरेको आरोप लगाएको चर्चा छ।