२०८२ असार २९ गते, आईतवार १४:३९

जनकपुरधाम-
मधेश प्रदेशसभामा बजेटमाथिको अवरोध हटाउन ६ सदस्यीय कार्यदललाई संशोधन गरी १४ सदस्यीय कार्यदल गठन गरिएको छ। शनिबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी सांसदहरूले सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलमा मन्त्रीहरूको नाम समावेश भएको भन्दै अवरोध गरेपछि सहमति पश्चात् पुनः बसेको बैठकमा नयाँ कार्यदल गठन भएको हो।

सभामुख मण्डलले संयोजक पदबाट राजीनामा दिएपछि उपसभामुख बबिता राउत ईशरको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन भएको छ। कार्यदलका सदस्यहरूमा मो. समीर, शारदा देवी थापा, चन्दन कुमार सिंह, शम्भु कुमार साह, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रामअशिष यादव, कनिष पटेल, जवाहरलाल कुशवाहा, विमला अन्सारी तरन्नम, कञ्चन विच्छा र उर्मिला देवी सिंह रहेका छन्।

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक तथा कार्यदल सदस्य कनिष पटेलले आइतबारसम्म छानबिन पूरा गरी सोमबार प्रतिवेदन प्रदेशसभामा पेश गर्ने बताए। मधेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेपछि करिब २३ मिनेट छलफल भएको थियो, तर प्रतिपक्षी सांसदहरूले बजेटमा बिचौलियाको प्रभाव रहेको भन्दै बैठक अवरुद्ध गर्दै आएका छन्। बैठक सोमबार बिहान ८ बजेसम्म स्थगित भएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस