सप्तरी-
सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराममा शनिबार राति करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया श्रीमती बिमला देवी सरदार रहेका छन् ।
उनीहरू खेतको काम सकेर राति करिब ८ बजे घर फर्कने क्रममा करेन्ट लागेर घटनास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । स्थानीयले हात्तीबाट धान जोगाउन खेतमा तानेको जिआइ तारमा विद्युत् प्रवाह गर्दा दुर्घटना भएको बताइएको छ ।
शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।