२०८३ बैशाख ६ गते, आईतवार ११:४२

स्थानिय प्रशासनको अदूरदर्शी निर्णयका कारण वीरगन्जवासी खाना–पानीबाट वञ्चित

वीरगन्ज-

स्थानीय प्रशासनको हतार र अदूरदर्शी निर्णयका कारण वीरगन्जवासी खाना र पानीको अभाव सहन बाध्य भएका छन् ।

वीरगन्जको मुख्य सडक विस्तार गर्न आज बिहानैदेखि पुरै वीरगन्जको विद्युत आपूर्ति ठप्प पारिएको छ, जसका कारण पानीको आपूर्ति प्रभावित भएको छ भने विद्युतीय चुलोबाट खाना पकाउनेहरू भोकै बस्न बाध्य भएका छन् ।

वीरगन्जको मुख्य सडकमा पर्ने अतिक्रमित पूर्वाधार हटाउन विद्युत आपूर्ति बन्द गर्नु पर्ने बाध्यता भए पनि, विद्युत नहुँदा पर्ने नकारात्मक प्रभावबारे स्थानीय प्रशासनले कुनै पूर्वयोजना नबनाएको कारण वीरगन्जवासी दुःख खेप्न बाध्य भएका छन् ।

वीरगन्जवासीको चिन्ता अहिले कसैलाई छैन, सबैलाई मुख्य सडक विस्तारकै चिन्ता रहेको रानिघाट निवासी विजय गुप्ताको भनाइ रहेको छ ।

वीरगन्जमा अहिले तीन तहका सरकारको बाक्लो उपस्थिति छ, तर वीरगन्जवासीको पीडाबारे सोच्ने कसैलाई फुर्सद नै छैन । सबैको चिन्ता र चासो वीरगन्जको गण्डकदेखि मितेरी पुलसम्मको सडक विस्तारमै केन्द्रित छ, त्यसका लागि चाहे पुरै वीरगन्जवासीलाई भोक र प्यासले नै किन नमार्नु परोस्, उनले पीडा पोखे ।

बिहान ६ बजे आफू सुतिरहेको बेला लाइन काटियो, घरमा खानेपानी भर्ने समेत मौका पाइएन र लाइन नभएको कारण इन्डक्सन चुलोमा खाना समेत पकाउन सकिएन । त्यसमाथि अहिले चर्को गर्मी छ, यसबारे कसैले चिन्ता नै नलिएको गुप्ताको आरोप रहेको छ ।

वीरगन्जको मुख्य सडक विस्तार गर्दा अपनाउनुपर्ने सावधानीबारे जिल्ला प्रशासन कार्यालयले शनिबार आफ्नै कार्यालयमा सरोकारवालासँग छलफल गरेको भए पनि, विद्युत आपूर्ति बन्द भएपछि त्यसले सिर्जना गर्ने समस्याबारे कुनै चर्चा नै नभएको बैठकमा सहभागी एक व्यक्तिले गोप्य खबरलाई जानकारी दिए । बैठकमा पूर्वाधार भत्काउँदा हुन सक्ने सम्भावित विरोधलाई कसरी नियन्त्रण गर्ने, पूर्वाधार भत्काउनका लागि प्रयोग हुने उपकरणबारे चिन्ता र चासो राखिए पनि सर्वसाधारणलाई हुन सक्ने खाना र पानी समस्याबारे छलफल नै नभएको उनले दाबी गरे ।

यसै विषयमा बुझ्न पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

वीरगन्जको मुख्य सडक विस्तार कार्य योजनाले वीरगन्जवासीलाई आइतबार बिहानैदेखि बन्दी बनाएको जस्तो महसुस भएको श्रीपुर निवासी पवन ठाकुरको भनाइ रहेको छ । इतिहासका किताबमा युद्धकालीन अवस्थामा शत्रुसँग गरिने व्यवहार अहिले वीरगन्जवासीसँग स्थानीय प्रशासनले गरेको उनको आरोप रहेको छ ।

शत्रुले आक्रमण गर्दा विपक्षीलाई खाना–पानी रोक्ने गरेको पढिएको र अहिले सडक विस्तारको नाममा वीरगन्जवासीले त्यस्तै अवस्था भोगेको ठाकुरको भनाइ रहेको छ ।

पोडकास्ट सुन्नुहोस