काठमाडौं –
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टीभित्रैबाट आएको राजीनामा दबाबपछि खुला जवाफ दिएका छन्। उनले पार्टी छोड्न चाहनेका लागि यही समय उपयुक्त भएको बताएका छन्।
राउतले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टीमा बसेर निरन्तर आलोचना गर्नेहरूलाई खुला चुनौती दिएका छन्। उनले भनेका छन्, “प्रिय साथीहरू, यो राम्रो मौका हो पार्टी छोड्ने। यदि कसैलाई पार्टीमा उकुसमुकुस लागेको छ, अनुशासनमा बस्न सकिँदैन, एउटै पार्टीमा बसेर वाक्क लाग्यो भने योभन्दा राम्रो मौका आउने छैन। जेन–जी आन्दोलन छ, युवाहरूको रापताप छ।”
उनले पार्टी शुद्धीकरणको आवश्यकता रहेको उल्लेख गर्दै वफादार, इमान्दार र क्रियाशील सदस्यहरूको साथमा जनमत पार्टीलाई पुनः सुदृढ बनाउन आह्वान गरेका छन्।
राउतले थपे, “हामी आभारी रहनेछौं। तपाईंले पार्टी छोडे पनि गुनासो राख्दैनौं, बरु योगदानको लागि सधैं कदर गर्नेछौं। राम्रो अवसर खोज्नु मानवीय स्वभाव हो, अन्यथा लिँदैनौं।”
त्यस्तै, पार्टी छोड्न चाहनेहरूले हस्ताक्षरसहितको पत्र पार्टीको आधिकारिक इमेलमा पठाउनुपर्ने व्यवस्था गरिएको पनि उनले जानकारी गराएका छन्।
यससँगै, जनमत पार्टीभित्र नेतृत्व संकटपछि सुरु भएको आन्तरिक विवाद अझ सतहमा आएको देखिएको छ।