२०८२ कार्तिक ८ गते, शनिबार १३:१५

छठ पर्व आजदेखि विधिवत् प्रारम्भ, देशभर श्रद्धा र भक्तिभावसहित मनाइँदै

वीरगन्ज –
आस्था र विश्वासको पर्वको रूपमा चिनिने छठ पर्व आजदेखि देशभर विधिवत् रूपमा सुरु भएको छ । चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने यो पर्वको आज पहिलो दिन ‘नहाय–खाय’ विधिबाट आरम्भ गरिएको हो ।

आजका दिन ब्रतालुहरूले बिहानै नदी, पोखरी वा अन्य जलाशयमा स्नान गरी अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा रहँदै आएको छ । यससँगै घर–आँगन सफा गर्ने, पवित्र वातावरणमा शुद्ध भोजन तयार गरी ग्रहण गर्ने चलन पनि छ ।

भोलि दोस्रो दिन ‘खरना’ गरिनेछ । यस दिन साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गर्ने र त्यसपछि निराहार व्रत बस्ने परम्परा छ ।

तेस्रो दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने मुख्य विधि सम्पन्न गरिनेछ । यो दिन जलाशय किनारमा बाँसको डालामा फलफूल, ठेकुआ, भुसुवा, दउरा, नरिवल लगायत पूजाका सामग्री राखी सूर्यदेवलाई अर्घ्य अर्पण गरिन्छ ।

अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । यस दिनलाई ‘पारन’ भनिन्छ ।

यसवर्ष छठ पर्वको मुख्य दिन सोमबार देशभर सार्वजनिक बिदा रहेको छ भने मंगलबार पनि मधेस प्रदेश सरकारले प्रदेशभर बिदा दिएको छ ।

छठ पर्व सूर्य उपासना र शुद्धता, समर्पण तथा कृतज्ञताको प्रतीकका रूपमा मधेससहित देशका विभिन्न भागमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।

पोडकास्ट सुन्नुहोस