२०८२ कार्तिक ८ गते, शनिबार १८:१३

माइतीघरमा अनुमति बिना प्रदर्शन गर्न आएका ५० जना जेन–जी युनाइटेड सदस्य पक्राउ

काठमाडौं-
स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका जेन–जी युनाइटेड समूहका ५० जना सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज बिहानदेखि माइतीघर क्षेत्रमा प्रदर्शनका लागि पुगेका प्रदर्शनकारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार स्थानीय प्रशासनको अनुमति बिना प्रदर्शन गर्न खोजिएको र अन्य जनजी समूहबीच संभवित झडप वा भिडन्तको जोखिम देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएकामध्ये २४ महिला र २६ पुरुष रहेका छन्।

जेनजी युनाइटेडका अगुवा मदन कार्कीले प्रदर्शन शान्तिपूर्ण र स्वतन्त्र रूपमा गर्न अनुमति माग्दा जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएको दाबी गरे। उनले भने, “हामी जेनजीहरु एकजुट हुनुपर्छ भन्ने सकारात्मक सन्देशका साथ जाँदै थियौं, तर प्रहरी प्रशासनले रोक्यो। अनुमति माग्दा पनि दिइएन। यो लोकतान्त्रिक मूल्यको अपमान हो।”

प्रहरीले भने माइतीघर क्षेत्रलाई संवेदनशील र पूर्वघटनाका कारण जोखिमयुक्त क्षेत्र मानेर कुनै पनि समूहलाई पूर्वअनुमति बिना प्रदर्शन गर्न नदिइने नीति अवलम्बन गरिएको जनाएको छ।

पोडकास्ट सुन्नुहोस