मुम्बई–
बलिउडका वरिष्ठ तथा बहुमुखी प्रतिभाका धनी अभिनेता सतिश शाहको निधन भएको छ। मृगौलासम्बन्धी रोगबाट पीडित ७४ वर्षीय शाहको शनिबार दिउँसो मुम्बईमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सतिश शाह भारतीय फिल्म तथा टेलिभिजन उद्योगमा हास्यदेखि गम्भीर भूमिकासम्मका अभिनयका लागि परिचित थिए। उनले आफ्नो अभिनय यात्रा ‘भगवान परशुराम’ टेलिभिजन सिरियलबाट सुरु गरेका थिए।
सिनेमाजगतमा उनको पहिलो महत्वपूर्ण प्रवेश १९८१ को फिल्म ‘उमराव जान’ बाट भएको हो, जहाँ उनले ‘दिलावर’को भूमिका निभाए। त्यसपछि १९८३ को सुपरहिट फिल्म ‘जाने भी दो यारों’ मा कमिश्नर डी’मेलोको भूमिकाबाट उनले बलिउडमा छुट्टै पहिचान बनाउन सफल भएका थिए।
९० को दशकमा शाहले ‘हम आपके है कौन’, ‘जुडवा’, ‘साजन चले ससुराल’, ‘घरवाली बहरवाली’, र ‘अनारी नम्बर वन’ जस्ता लोकप्रिय चलचित्रहरूमा मनमोहक हास्य भूमिकामा अभिनय गर्दै दर्शकको मन जितेका थिए।
उनले बलिउडका तीन खान – शाहरुख खान (‘चलते चलते’), सलमान खान (‘मुझसे शादी करोगी’) र आमिर खान (‘अकेले हम अकेले तुम’) सँग समेत अभिनय गरेका थिए। शाह अन्तिम पटक २०१४ मा प्रदर्शित फिल्म ‘हमशकल्स’ मा देखिएका थिए।
टेलिभिजनमा पनि उनका योगदान अविस्मरणीय छन्। ‘घर जमाई’ र ‘साराभाई भर्सेस साराभाई’ मा उनको अभिनयले दर्शकमा अमिट छाप छोड्यो। साथै, उनले लोकप्रिय कार्यक्रम ‘कमेडी सर्कस’ मा निर्णायकको भूमिकामा पनि देखिए।
सतिश शाहको निधनले भारतीय मनोरञ्जन क्षेत्रले एउटा बहुमुखी र सदाबहार कलाकार गुमाएको महसुस गरेको छ। उनका सहकलाकार र प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेका छन्।














