वीरगन्ज-
पक्राउ गरिएको पटखा घर पठाएको आरोप लागेका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) रामबाबु कुशवाहामाथि छानबिन सुरु भएको छ । गत असोज ३१ गते पक्राउ परेको पटखा आफ्ना सहकर्मीमार्फत घर पठाउन लागेको समाचार गोप्यखबरले प्रकाशित गरेपछि असई कुशवाहामाथि सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले अनुसन्धान सुरु गरेको हो ।
पक्राउ गरिएको पटखा सहकर्मीमार्फत असई कुशवाहाले घर पठाउँदै गरेको भिडियो तथा समाचार सार्वजनिक भएपछि असईलाई स्पष्टिकरण सोधी छानबिन सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक पूरनचन्द्र भट्टराईले जानकारी दिनुभयो।
समाचार सार्वजनिक भएपछि असईमाथि लागेका आरोपका विषयमा छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन वीरगन्ज भन्सार कार्यालयमा अवस्थित सशस्त्र प्रहरी गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक पूरुसोत्तम भण्डारीलाई आदेश गरिएको उहाँले बताउनुभयो।
असई कुशवाहामाथि छानबिन गरी माग गरिएको प्रतिवेदन डिएसपी भण्डारीले कार्यालयमा पठाइसकिएको भए पनि कार्यव्यस्तताको कारण अध्ययन गर्न नसकिएको एसपी भट्टराईले जानकारी दिनुभयो। छानबिनमा असई कुशवाहा दोषी देखिए उनलाई विभागीय कारबाहीका लागि उच्च निकायमा सिफारिस गरिने उहाँले बताउनुभयो।
बरामद गरिएका पटखामा अनियमितता भएको विषयमा छानबिन भए–नभएकोबारे असई कुशवाहासँग बुझ्दा उहाँले वीरगन्ज भन्सारमा अवस्थित कार्यालयमा आएपछि मात्र जानकारी दिने र फोनमा कुनै जानकारी नदिने बताउनुभयो।
गत असोज ३१ गते शुक्रबार बिहान भन्सार कार्यालयको मुख्य गेटबाट बरामद भएको पटखा असई कुशवाहाले भन्सार कार्यालयमा नबुझाई आफ्ना एक सहकर्मीमार्फत मोटरसाइकलमा लोड गरी घर पठाउँदै गरेको भिडियोसहित समाचार गोप्यखबरले प्रकाशित गरेको थियो।














