वीरगन्ज-
विश्व मधुमेह दिवस–२०२५ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले रोटार्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जको सहकार्यमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न गरेको छ। वीरगञ्जको घडियारवा पोखरी क्षेत्रमा शुक्रबार बिहान आयोजित उक्त स्वास्थ्य शिविरमा मधुमेहसम्बन्धी परामर्शसँगै ब्लड सुगर परीक्षण, BMI चेकअप तथा रक्तचाप मापन सेवा प्रदान गरिएको थियो।
बिहान ६ देखि ८ बजेसम्म सञ्चालन गरिएको शिविरमा १४१ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। सहभागीमध्ये १२४ जना पुरुष तथा १७ जना महिला रहेका थिए। स्थानीय नागरिकको उल्लेख्य सहभागिताले समुदायमा मधुमेहबारे सचेतना आवश्यक रहेको संकेत गरेको आयोजक पक्षको भनाइ छ।
कार्यक्रममा उपस्थित वक्ताहरूले विश्वभर मधुमेह तीव्र रूपमा फैलिँदै गएको जनस्वास्थ्य चुनौती भएको उल्लेख गर्दै नियमित परीक्षण, स्वस्थ जीवनशैली र समयमै उपचारका लागि समुदायस्तरमा निरन्तर अभियान आवश्यक रहेको धारणा राखेका थिए।
शिविरमा नेशनल मेडिकल कलेजतर्फबाट डा. अनिल साह, इञ्जिनियर प्रदीप चौधरी, जितेश चन्द्र दास, ब्रज किशोर चौधरी, बिश्वनाथ कन्थ तथा डा. प्रसान्त भण्डारी लगायतको उपस्थिति रहेको थियो। साथै रोटार्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जतर्फबाट अध्यक्ष रोजनी भट्टराई, सचिव शुजल ठाकुर र कार्यक्रम संयोजक सन्दीप राज ओझा लगायत सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
आयोजकका अनुसार स्थानीय समुदाय, विद्यार्थी, स्वयंसेवक तथा स्वास्थ्यकर्मीहरूको सहयोग र सहभागिताले कार्यक्रम सफल, प्रभावकारी र उद्देश्यपूर्ण बनेको छ।














