२०८२ मंसिर ३ गते, बुधबार १५:०४

वीरगन्जमा बीमा रकम दाबी गर्न बसमा आगजनी: बस मालिक नियन्त्रणमा, प्रहरीको पुष्टि

वीरगन्ज-

वीरगन्जको नयाँ बसपार्कमा पार्किङ गरिएका दुई बसमा लागेको आगजनीको घटनामा बस मालिककै संलग्नता रहेको खुलेको छ। बीमा कम्पनीबाट रकम दाबी गर्ने उद्देश्यले योजनाबद्ध रूपमा आगो लगाएको बस मालिकले नै स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप्राज पाठकले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बसमा भएको आगलागी आकस्मिक नभई योजनाबद्ध रहेको पुष्टि गरेका हुन्। “अनुसन्धानका क्रममा बस मालिकले स्वीकृति दिएका छन् कि आगो उनले नै लगाएका हुन्, उद्देश्य बीमा रकम प्राप्ति थियो,” एसपी पाठकले बताएका छन्।

उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण अहिले सार्वजनिक गर्न नसकिने अवस्था रहेको छ।

मंगलबार मध्यरात करिब पौने १ बजे वीरगन्ज–१६ स्थित नयाँ बसपार्कमा जम जम ट्राभल्सका नाममा दर्ता भएका ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका दुई बसमा अचानक आगलागी भएको थियो।

आगलागीपछि प्रहरी, वीरगन्ज महानगरपालिकाको अग्नि नियन्त्रण टोली तथा दमकल परिचालन गरी आगो नियन्त्रणमा ल्याइएको थियो। तर, आगोले दुवै बस पूर्ण रूपमा जलेर नष्ट भएका थिए।

पोडकास्ट सुन्नुहोस