२०८२ मंसिर ८ गते, सोमबार १६:५२

जनकपुरधाममा तिलकोत्सव सम्पन्न, आज मटकोर हुने

जनकपुरधाम-

त्रेता युगमा भगवान राम र माता सीताको विवाह भएको दिवसको स्मरणमा मनाइने ऐतिहासिक सीताराम विवाहपञ्चमी महोत्सवअन्तर्गत आज चौथो दिन तिलकोत्सव विधि सम्पन्न गरिएको छ। साताव्यापी धार्मिक उत्सवको रुपमा मनाइने यस महोत्सवमा आज राम–सीताको प्रतीकात्मक तिलकोत्सव गरिँदै विवाह संस्कारका परम्परागत विधि झल्काइएको हो।

जनकपुरस्थित जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए। त्यहाँ भारतको अयोध्यास्थित राम मन्दिरका प्रतिनिधित्वकर्ता महन्त राम गिरीसँग अंकमाल गर्दै परम्परागत शैलीमा सम्धी मिलन गरिएको थियो।

आज सोमबार विवाहपञ्चमी कार्यक्रमअन्तर्गत मटकोर विदि आयोजना हुने जनाइएको छ। त्यसपछि बाँकी वैवाहिक विधिहरू क्रमशः सम्पन्न हुँदै विवाहपञ्चमीको मुख्य दिन मार्ग शुक्ल पञ्चमीमा राम–सीताको ऐतिहासिक विवाह महोत्वस सम्पन्न हुनेछ।

जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने विवाहपञ्चमीमा नेपाल र भारतका हजारौँ भक्तजन सहभागी हुने गरेका छन्। यस वर्ष पनि धार्मिक परिवेश, शोभायात्रा, परम्परागत संस्कार र भक्तिभावका साथ कार्यक्रम निरन्तरता पाईरहेको छ।

पोडकास्ट सुन्नुहोस