वीरगन्ज-
मधेश प्रदेशमा नाबालिका तथा किशोरीहरूलाई चीन पठाउने उद्देश्यले ‘दुलही तस्करी’ गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ। बाराको करैयामाई गाउँपालिका–१ हरैया टोलमा बुधबार राति एक नाबालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको छ।
प्रहरीका अनुसार ४४ वर्षीय जाकिर हुसैन देवानले आफ्नै उमेर नपुगेकी छोरीलाई चीनको गान्सु प्रान्तका २२ वर्षीय एनआईयू युबिनसँग घरमै लुकिछिपी विवाह गराइरहेका थिए। पर्यटक भिसामा नेपाल आएका युबिन र बालिकालाई विवाहको तयारी अवस्थामा फेला पारेपछि प्रहरीले बालिकाको उद्धार गरी दुवै जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पछिल्ला केही वर्षयता मधेश प्रदेशका सीमावर्ती क्षेत्रमा चिनियाँ नागरिकहरूले आर्थिक प्रलोभन र विदेश पठाउने आश्वासन देखाएर नाबालिकाहरूलाई विवाहको लोभ देखाउने क्रम बढ्दै गएको छ। यस्ता गिरोहले विशेषगरी गरिब तथा आर्थिक रूपले कमजोर परिवारका छोरीहरूलाई लक्षित गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
पक्राउ परेका जाकिर हुसैन देवान र चिनियाँ नागरिक एनआईयू युबिनमाथि बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार र बालविवाहसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले अभिभावकहरूलाई यस्ता प्रलोभनमा नपर्न र छोरीहरूको सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न स्थानीय तह र समुदायलाई पनि अनुरोध गरेको छ।
यसअघि पनि मधेश प्रदेशका विभिन्न जिल्लामा चिनियाँ नागरिकहरूले नाबालिकालाई विवाहको प्रलोभन देखाएर चीन लैजाने प्रयास गरेका घटनाहरू सार्वजनिक भएका थिए। प्रहरीले यस्ता गिरोहको अन्तर्राष्ट्रिय सञ्जाल रहेको हुन सक्ने आशंका गर्दै थप अनुसन्धान अघि बढाएको छ।
















