रक्सौल/ शंकर गणेश
बुधबार — भारत–नेपाल सीमा नजिक रक्सौलको नोनियाडीह पंचायत अन्तर्गत महदेवा गाउँमा पोखरीको किनारमा एक झोलाभित्र ६ वटा सुतेली बम फेला परेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। घटना स्थल नेपाल सीमा नजिकै मात्र करिब २०० मिटरको दूरीमा रहेको छ।
ग्रामीणहरूका अनुसार बिहान शौचका लागि पोखरीतर्फ गएका केही व्यक्तिले झाडी नजिक राखिएको एक शंकास्पद झोला देखे। नजिकै गएर हेरजाँ झोलामा सुतेली बम देखिएपछि तुरुन्तै गाउँमा खबर फैलियो र केही मिनेटमै पुरै क्षेत्रमा हण्डरमण्डर मच्चियो।
सूचना पाएपछि रक्सौल थाना प्रहरी र सीमा सुरक्षा बल (एसएसबी) का जवानहरू घटनास्थलमा पुगेका छन्। क्षेत्र पूर्ण रूपमा घेराबन्दी गरिएको छ भने सर्वसाधारणलाई सुरक्षित दूरीमा बस्न निर्देशन दिइएको छ। डग स्क्वाड घटनास्थलमा पुगेको भए पनि बम डिस्पोजल टोली भने अझै नआएको स्थानीयले बताएका छन्।
पोखरी किनारमा बम कसरी पुर्याइयो र त्यसको उद्देश्य के थियो भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको छ।
यसअघि चार दिनअघि महदेवा गाउँकै संजय सिंहको घरमा भीषण डकैती भएको थियो। स्थानीयको शंका छ-डकैतहरूले डकैतीका क्रममा प्रयोगका लागि ल्याइएको बम यहीं फालेर भागेको हुन सक्छ।
यस्तै, अप्रिल २०२३ मा पनि यही गाउँमा अरुण सिंहको घरमा डकैतीपछि पोखरी नजिकै यस्तै प्रकृतिका सुतेली बम बरामद भएको थियो। पुनः समान घटनाको दोहोरिएको हुँदा स्थानीय बासिन्दा त्रासमा छन्।
प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताउँदै दोषीहरूलाई छिट्टै पक्राउ गरिने आश्वासन दिएको छ।














