२०८२ फाल्गुन २७ गते, बुधबार ०९:०६

पर्सामा को कहाबाट उम्मेदवारी दर्ता गराउने ? मनोनयन दर्ता गराउन कुन दललाई कति बजेको समय ?

पर्सा-

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन्। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यसूची अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारहरूले मनोनयन दर्ता गर्नेछन्।

बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ। यसै क्रममा पर्साका चारवटै निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको छ।

पर्साका चार निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),उज्यालो पार्टि , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराउँदैछन्। निर्वाचन अधिकृतको कार्यालयले दलहरूका लागि छुट्टाछुट्टै समय तालिका समेत सार्वजनिक गरेको छ।

कुन क्षेत्रमा को-को उम्मेदवार?

  • निर्वाचन क्षेत्र नं. १: नेपाली कांग्रेसका अनिल रुङ्गटा, नेकपा एमालेबाट नवप्रवेशी प्रदीप यादव, जसपा नेपालबाट रामनरेश यादव, उज्यालो पार्टिबाटराजकिशोर सिंह (पराग ) ,रास्वपाबाट हरि पन्त, राप्रपाबाट नन्दु श्रीवास्तव र नेकपाबाट अजय चौरसिया लगायतका नेताहरूले उम्मेदवारी दिने निश्चित भएको छ।

  • निर्वाचन क्षेत्र नं. २: नेपाली कांग्रेसका तर्फबाट अजय कुमार चौरसिया, नेकपा एमालेबाट रिमा कुमारी यादव, जसपा नेपालबाट अशोक टेमानी, रास्वपाबाट सुशील साह कानु, राप्रपाबाट बिना जैसवाल र नेकपाबाट मनोज चौधरीले मनोनयन दर्ता गराउने तयारी गरेका छन्।

  • निर्वाचन क्षेत्र नं. ३: नेपाली कांग्रेसका सुरेन्द्र चौधरी, नेकपा एमालेबाट रुपेश पाण्डे, रास्वपाबाट रामाकान्त चौरसिया र नेकपाबाट छोटेलाल यादव उम्मेदवार रहेका छन्। जसपाले भने यो समाचार तयार पार्दासम्म उम्मेदवारको नाम टुङ्गो लगाउन नसकेको जिल्ला अध्यक्ष रामनरेश यादवले जानकारी दिनुभयो।

  • निर्वाचन क्षेत्र नं. ४: नेपाली कांग्रेसका तर्फबाट रमेश रिजाल, नेकपा एमालेबाट जालिम मियाँ, जसपा नेपालबाट कृपासिन्धु चौधरी, रास्वपाबाट टेकबहादुर शाक्य र नेकपाबाट जयप्रकाश थारूले उम्मेदवारी दिने तयारी गरेका छन्।

कुन दललाई कति बजेको समय?

भीडभाड व्यवस्थापन र सहजताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई फरक-फरक समय निर्धारण गरेको छ:

समय (दिउँसो) राजनीतिक दल
१०:३० – ११:०० आम जनता पार्टी
११:०० – ११:३० राष्ट्रिय जनमोर्चा
११:३० – १२:०० नेकपा (एमाले)
१२:०० – १२:३० नेकपा
१२:३० – १:०० नेपाली कांग्रेस
१:०० – १:३० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
१:३० – २:०० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
२:०० – २:३० जसपा नेपाल
२:३० – ३:०० जनमत पार्टी
३:०० – ३:३० नागरिक उन्मुक्ति पार्टी
३:३० – ४:०० लोसपा
४:०० – ४:३० सद्भावना पार्टी

पोडकास्ट सुन्नुहोस