वीरगन्ज –
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले पर्सामा आफ्नो पकड बलियो बनाउँदै उम्मेदवारी दर्ता गराएको छ। मंगलवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका उम्मेदवारहरूले तामझामका साथ मनोनयन पत्र दर्ता गराएका हुन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री एवं हालै एमाले प्रवेश गरेका प्रदीप यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ। मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले आफूले विगतमा गरेका काम र क्षेत्रको विकासका लागि जनताले पुनः विश्वास गर्ने दाबी गर्नुभयो। जसपा नेपाल परित्याग गरी एमाले प्रवेश गरेका यादवको उम्मेदवारीलाई यस क्षेत्रमा निकै चासोका साथ हेरिएको छ।
त्यसैगरी, पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेकी युवा नेतृ रिमा कुमारी यादवले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ। मंगलवार महानगरपालिका–२९ मुसौली निवासी यादवलाई पार्टीले यस पटक चुनावी मैदानमा उतारेको हो। उहाँको उम्मेदवारीले क्षेत्रमा नयाँ उत्साह थपेको र महिला तथा युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने एमाले नेताहरूको भनाइ छ।
उम्मेदवारी दर्ताका क्रममा एमालेका कार्यकर्ता र समर्थकहरूको ठुलो संख्यामा उपस्थिति रहेको थियो। उनीहरूले पार्टीको पक्षमा नाराबाजी गर्दै र्यालीसहित निर्वाचन कार्यालय पुगेका थिए। एमालेले पर्साका अन्य क्षेत्रहरूमा पनि उम्मेदवारहरूको टुङ्गो लगाई मनोनयन प्रक्रिया अगाडि बढाइसकेको छ।














