२०८२ माघ ६ गते, मंगलवार १५:४२

पर्सामा रास्वपाको शक्ति प्रदर्शन: क्षेत्र १ बाट हरि पन्त र २ बाट सुशील साहको उम्मेदवारी दर्ता (भिडियो सहित)

 वीरगन्ज –

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सामा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराएको छ। ‘घण्टी’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएको रास्वपाले आज वीरगन्जमा शक्ति प्रदर्शनसहित आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गराएको हो।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार हरि पन्तले आफ्नो मनोनयन दर्ता गराउनुभएको छ। मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पन्तले वीरगन्जको समग्र विकास, सुशासन र राजनीतिक परिवर्तनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो। उहाँले यस पटक मधेसका जनताले परिवर्तनको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाका तर्फबाट सुशील साहले उम्मेदवारी दर्ता गराउनुभएको छ। वीरगन्ज महानगरपालिका वडा नं. १० को वडाध्यक्ष पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिनुभएका साहले युवाहरूको ठुलो उपस्थितिका बीच मनोनयन पत्र बुझाउनुभएको हो। वडाको सफल नेतृत्वपछि अब संघीय संसदमा क्षेत्रको आवाज बुलन्द पार्न आफू तयार रहेको उहाँको भनाइ थियो।

मनोनयन दर्ताका क्रममा रास्वपाका समर्थकहरूले ‘घण्टी’ बजाउँदै र नाराबाजी गर्दै वीरगन्ज बजार परिक्रमा गरेका थिए। निर्वाचन आयोगका अनुसार आज देशभरका १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको उत्साह छाएको छ। पर्सामा पनि रास्वपासँगै नेकपा एमाले, जनमत पार्टी र अन्य स्वतन्त्र उम्मेदवारहरूले शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता गरिरहेका छन्।

पोडकास्ट सुन्नुहोस