२०८२ माघ ६ गते, मंगलवार १९:१५

पर्साका चारवटै निर्वाचन क्षेत्रमा ‘उज्यालो नेपाल’ का शिक्षित युवा उम्मेदवार

वीरगन्ज-

राजनीतिमा युवाहरूको अर्थपूर्ण सहभागिता र नेतृत्व नआएसम्म नयाँ नेपाल निर्माणको अभियान अगाडि बढ्न नसक्ने आवाज देशभर उठिरहेका बेला उज्यालो नेपाल पार्टीले पर्साका चारवटै निर्वाचन क्षेत्रमा शिक्षित युवाहरूलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।

कुलमान घिसिङको नेतृत्व रहेको उज्यालो नेपाल पार्टीले पर्साका चारवटै क्षेत्रमा आज आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गराएको हो। पार्टीका अनुसार निर्वाचन क्षेत्र नं. १ बाट ३५ वर्षीय राजकिशोर सिंह (पराग), क्षेत्र नं. २ बाट ३६ वर्षीय कृष्णमुरारी प्रजापति, क्षेत्र नं. ३ बाट ४० वर्षीय रामरुप साह कानु र क्षेत्र नं. ४ बाट ४० वर्षीय विनोद यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ।

पर्सा क्षेत्र नं. १ का उम्मेदवार राजकिशोर सिंह (पराग) स्नातक तह उत्तीर्ण गरी राजनीतिमा लामो समयदेखि सक्रिय युवा हुनुहुन्छ। त्यस्तै, क्षेत्र नं. २ का उम्मेदवार कृष्णमुरारी प्रजापति उच्च शिक्षा हासिल गरेका चार्टर्ड एकाउन्टेन्ट (CA) हुनुहुन्छ। क्षेत्र नं. ३ र ४ का उम्मेदवारहरू रामरुप साह कानु र विनोद यादव समाजमा शिक्षाको ज्योति फैलाउने शिक्षक पेसाबाट राजनीतिमा आउनुभएको हो।

ठूला राजनीतिक दलहरूले युवा सहभागिताको कुरा मात्र गरिरहेका बेला उज्यालो नेपाल पार्टीले शिक्षित र बौद्धिक युवाहरूलाई चुनावी मैदानमा उतारेर युवामाझ आफ्नो बलियो उपस्थिति दर्ता गराएको छ। क्षेत्र नं. १ का उम्मेदवार सिंहले “कुरा मात्र गर्ने दलहरू भन्दा फरक पहिचानका साथ आफूहरू काम गर्न आएको” बताउनुभएको छ।

पोडकास्ट सुन्नुहोस