वीरगन्ज-
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अनुभवी एवं विकासप्रेमी नेता नन्दु श्रीवास्तवलाई चुनावी मैदानमा उतारेको छ। श्रीवास्तवले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उत्साहजनक रूपमा आफ्नो मनोनयन पत्र दर्ता गराउनुभएको हो।
उम्मेदवार नन्दु श्रीवास्तव पर्साको राजनीतिमा ‘विकास पुरुष’ का रूपमा परिचित पूर्व मन्त्री एवं वीरगन्जका पूर्व मेयर बिमल श्रीवास्तवका सहोदर भाइ हुनुहुन्छ। पारिवारिक राजनीतिक विरासत बोकेका नन्दु आफैँमा एक इमानदार, जनउत्तरदायी र स्वच्छ छविका नेताका रूपमा चिनिनुहुन्छ। राजनीतिबाहेक उहाँ एक कुशल कलाकारका रूपमा पनि समाजमा लोकप्रिय हुनुहुन्छ।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै श्रीवास्तवले पर्साको विकास र वीरगन्जको गरिमालाई उच्च राख्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “म केवल चुनाव लड्न होइन, यो क्षेत्रको अधुरो विकासलाई पूर्णता दिन र जनताको सेवा गर्न आएको हुँ। कलाकारितामा जस्तै राजनीतिमा पनि म इमानदारिताको रङ्ग भर्न चाहन्छु।”
राप्रपाले श्रीवास्तवलाई उम्मेदवार बनाएपछि पर्सा क्षेत्र नम्बर १ मा चुनावी समीकरण थप रोचक बनेको छ। उहाँको सरल स्वभाव र श्रीवास्तव परिवारको पुरानो विरासतले गर्दा अन्य ठूला दलका उम्मेदवारहरूलाई कडा चुनौती पुग्ने अनुमान गरिएको छ। र्यालीसहित मनोनयन दर्ता गर्न पुगेका श्रीवास्तवलाई सयौँ कार्यकर्ता र कलाकार क्षेत्रका व्यक्तित्वहरूले साथ दिएका थिए।















