वीरगन्ज-
पर्सा जिल्लाका ४ वटा निर्वाचन क्षेत्रमा कुल १०७ जनाले उम्मेदवारी दिएका छन्। तर, क्षेत्र नं. २ बाट सुशील साह कानुले दिएको उम्मेदवारीले धेरैलाई झस्काएको छ।
वीरगन्ज महानगरपालिका वडा नं. १० का पूर्व वडाध्यक्ष कानुले पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएपछि उनीसँगै लामो समय काम गरेका महानगरका अन्य वडाध्यक्षहरू समेत चकित भएका छन्।
महानगरका वडाध्यक्षहरू माझ ‘सलाई रेन्च’को उपमा पाएका पूर्व वडाध्यक्ष कानुले प्रतिनिधिसभामा उम्मेदवारी दिएको भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार बनेको विषयले बढी चर्चा पाएको छ।
सुशासन र पारदर्शितालाई आफ्नो मुख्य एजेन्डा बनाएर निर्वाचनमा होमिएको रास्वपाले ‘अवसरवादी’को आरोप लाग्ने गरेका कानुलाई उम्मेदवार बनाएको विषय पचाउन कठिन भएको केही वडाध्यक्षहरूले बताएका छन्। ‘गोप्यखबर’सँग कुरा गर्दै वीरगन्ज महानगरका एक वडाध्यक्षले भने, “नैतिक धरातल कमजोर भएका र सधैँ अवसरको खोजीमा रहने व्यक्तिलाई रास्वपा जस्तो पार्टीले टिकट दिएको सुन्दा पत्याउनै गाह्रो भयो।”
२०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामनगिता प्रसाद कानुसँग पराजित भएपछि कानुले आफ्ना राजनीतिक गुरु प्रदीप यादवको सल्लाहमा तत्कालीन नगरप्रमुख विजय सरावगीमाथि निगरानी गर्न बोर्ड सदस्यको भूमिका निभाएका थिए। सोही व्यक्तिलाई रास्वपाले कुन आधारमा टिकट दियो भन्ने प्रश्न उठेको छ।
नगरप्रमुख सरावगीको कार्यकालभरि महानगरपालिकाबाट उठ्ने पिसिडिसी (PCDC) को हिसाब कानुले नै राख्ने गरेको स्रोतको दाबी छ। त्यतिबेला आर्जन गरेको धनको बलमा २०७९ को निर्वाचनमा वडा नं. १० बाट निर्वाचित भएका कानु अहिले सोही ‘धनबल’ मार्फत प्रतिनिधिसभा चुनाव जित्ने सोचका साथ हौसिएको आरोप लागेको छ।
“पहिले मधेसी भावनालाई भजाएर वडाध्यक्ष भए, अहिले युवाको भावनालाई प्रयोग गर्न रास्वपा प्रवेश गरेका छन्। यसका लागि उनले आफ्नो पार्टी र सिद्धान्तसमेत त्यागेको प्रस्ट देखिन्छ,” स्रोतले भन्यो, “जस्ता गुरु यादव छन्, उस्तै चेलो कानु पनि छन्।”
पद र पैसाका लागि जुनसुकै सम्झौता गर्ने प्रवृत्ति भएका कानुले यसपटक चुनाव जित्न ठुलै धनबल प्रयोग गर्ने तयारी गरेको बताइन्छ। घडिअर्वा पोखरीको नियन्त्रण समेत आफ्नो हातमा राखेका कानुसँग विकासको के कस्तो ‘भिजन’ छ भन्नेबारे कुनै सार्वजनिक सभामा सुनिएको छैन। यद्यपि, उनी आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै हिँडेका छन्।
पर्सा क्षेत्र नं. २ का जनताले उनलाई मतदान गरे त्यो उनको व्यक्तित्वका कारण नभई रास्वपाको लहर र धनबलका आधारमा हुने चर्चा छ। जनताको प्रतिनिधित्वका लागि उत्रिएका कानुले आफ्नो योजनाका बारेमा हालसम्म कुनै मञ्च वा अन्तर्वार्तामा स्पष्ट धारणा राखेका छैनन्।














