विराटनगर –
नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेकै बेला सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक(एसपी) राजेश घिमिरे अचानक बेहोस भएर ढलेपछि उपचारका क्रममा उनको दुःखद निधन भएको छ।
मोरङको विराटचोकमा शुक्रबार आयोजित डीआईजी तहको समकक्ष बैठकमा नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का उच्च अधिकारीहरू सहभागी थिए। सोही क्रममा दिउँसो एसपी घिमिरे एक्कासि अचेत भएर ढलेका थिए, जसले बैठकस्थलमै स्तब्धता छाएको थियो।
अचेत अवस्थामा रहेका उनलाई तत्काल मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल (विराट मेडिकल कलेज) लगिएको थियो। अस्पताल स्रोतका अनुसार उच्च रक्तचापका कारण उनी बेहोस भएका थिए भने ढल्ने क्रममा जिब्रोसमेत काटिएको थियो। चिकित्सकहरूले निरन्तर उपचार प्रयास गरे पनि उनको ज्यान जोगाउन सकेनन्।
सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपाने ले सुरक्षा बैठककै क्रममा ढलेका घिमिरेलाई तत्काल अस्पताल पुर्याइए पनि उपचार सफल हुन नसकेको जानकारी दिए।
एसपी घिमिरे हालै सशस्त्र प्रहरी बल नम्बर ३ वाहिनी गढीमाई मुख्यालय, मकवानपुर मा सरुवा भइसकेका थिए र शनिबार त्यता जाने तयारीमा थिए। तर नयाँ जिम्मेवारी सम्हाल्नुअघि नै उनको असामयिक निधनले सशस्त्र प्रहरी संगठनलाई गहिरो शोकमा डुबाएको छ।














