काठमाडौँ-
निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेका उम्मेदवारमध्ये २४ जनाले अन्ततः जवाफ बुझाएका छन् भने १० उम्मेदवार अझै पनि मौन बसेका छन्। आयोगले कुल ३४ उम्मेदवार तथा सम्बद्ध राजनीतिक दलसँग स्पष्टीकरण मागेको थियो, तर सबैबाट प्रतिक्रिया नआउँदा प्रकरण थप चासोको विषय बनेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिता कार्यान्वयनलाई कडाइका साथ अघि बढाइँदै छ र प्राप्त उजुरीमाथि जाँचबुझ तथा कारबाही प्रक्रिया तीव्र रूपमा चलिरहेको छ। उल्लंघनका घटनालाई न्यूनीकरण गर्न केन्द्रीयदेखि जिल्ला तहसम्मका अनुगमन संयन्त्र सक्रिय बनाइएको आयोगले जनाएको छ।
आचारसंहिता प्रभावकारी बनाउन केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला समिति, अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू पूर्ण रूपमा परिचालित गरिएको छ। साथै, निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ अनुसार ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमनको जिम्मेवारी दिइएको छ, जसले आर्थिक बाहेकका विषय हेर्ने अधिकार राख्छन्।
आर्थिक पक्षको निगरानीका लागि भने प्रमुख कोष नियन्त्रक र कोप नियन्त्रकलाई अनुगमन अधिकृत तोकिएको छ। आयोगका अनुसार छोटो समयमै देशभर सरोकारवालालाई आचारसंहिताबारे सचेत गराउने र पालना सुनिश्चित गर्ने प्रयास प्रभावकारी रूपमा अघि बढिरहेको छ।
जिल्लास्तरमा प्राप्त आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीहरूमा आवश्यक कारबाही भइरहेको आयोगले जनाएको छ। तर, अझै स्पष्टीकरण नदिने उम्मेदवारमाथि कस्तो कदम चालिन्छ भन्ने प्रश्नले राजनीतिक वृत्तमा चासो र तनाव थप बढाएको छ।














