२०८२ माघ २४ गते, शनिबार १७:१७

पर्सा २ को विकास र परिवर्तनका लागि मेरो उम्मेदवारी : रिमा यादव

विभिन्न पार्टी परित्याग गरी सयौँ कार्यकर्ता एमालेमा प्रवेश

वीरगन्ज-
नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर २ की उम्मेदवार रिमा कुमारी यादवले पर्साको समग्र विकास र परिवर्तनका लागि आफू सक्रिय राजनीतिमा होमिएको बताएकी छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।सम्बोधनका क्रममा यादवले पर्सा क्षेत्र नम्बर २ का जनताले लामो समयदेखि आश्वासन मात्र पाएको र वास्तविक विकासबाट वञ्चित हुनुपरेको गुनासो गरिन् ।

“विगतमा निर्वाचित जनप्रतिनिधिहरूले जनतासँग गरेका वाचा पूरा नगर्दा यस क्षेत्रका वासिन्दामा चरम निराशा छ,” यादवले भनिन्, “अब म आश्वासनको राजनीति होइन, जनताको विश्वास जित्ने गरी परिणाममुखी र व्यवहारिक काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दछु ।”

उम्मेदवार यादवले आफ्नो मुख्य एजेन्डा महिला सशक्तिकरण र शिक्षा रहेको स्पष्ट पारिन् । मधेशी महिलाहरू शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट पछाडि परेको चर्चा गर्दै उनले महिलालाई आत्मनिर्भर बनाउन विशेष नीति ल्याउने बताइन् ।

“मधेशी महिलाको नेतृत्व विकास, सीपमूलक तालिम र आर्थिक सशक्तिकरण बिना समाजको वास्तविक विकास सम्भव छैन,” उनले जोड दिइन् । शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयको भौतिक पूर्वाधार विकास र छात्रा शिक्षालाई प्रोत्साहन गर्ने योजना उनले सुनाइन् ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य विजय सरावगीले एमालेको नेतृत्वमा मात्र मुलुकको समृद्धि सम्भव रहेको दाबी गरे । त्यस्तै, समानुपातिक उम्मेदवार बिचारी यादव, क्षेत्रीय अध्यक्ष मनोज कुशवाहा, युवा नेता मुकेश द्विवेदी र वीरगञ्ज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अली लगायतले एमालेका उम्मेदवारलाई विजयी गराउन अपिल गरे ।

सो अवसरमा वडा अध्यक्ष सन्जु छतकुली, युवा नेता अजय साह, पिन्टु उपाध्याय र प्रधुमन यादव लगायतको उपस्थिति थियो । चुनावी सभाका क्रममा विभिन्न पार्टी परित्याग गरी सयौँको सङ्ख्यामा नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका थिए ।

पोडकास्ट सुन्नुहोस