वीरगन्ज-
नेपाली कांग्रेसबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुङ्गटाले आफ्नो चुनावी प्रतिस्पर्धा कुनै दल वा उम्मेदवारसँग नभई विगतको अविकास र प्रवृत्तिसँग रहेको स्पष्ट पार्नुभएको छ। उहाँले पदको लालच वा कमिशनका लागि नभई क्षेत्रको विकास र जनताको सेवाका लागि उम्मेदवारी दिएको बताउनुभयो।
वीरगन्ज महानगरपालिका वडा नं. ३२ अन्तर्गत चोर्नीमा आयोजित मतदाता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङ्गटाले क्षेत्र नं. १ का जनताको विकास र सेवा नै आफ्नो मुख्य ध्येय रहेको उल्लेख गर्नुभयो। आफू नाम वा पैसा कमाउनका लागि चुनाव नलडेको पनि उहाँले स्पष्ट गर्नुभयो।
उहाँले क्षेत्रमा देखिएको बेरोजगारीको समस्यालाई मुख्य चुनौतीका रूपमा औँल्याउँदै उद्योग, व्यापार तथा कलकारखाना स्थापना र तिनको दिगोपनाका लागि स्पष्ट मार्गचित्र आफूसँग रहेको जानकारी दिनुभयो।
नेपाली कांग्रेसको सरकार हुँदा उद्योग–व्यापार र राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय प्रगति भएको स्मरण गर्दै यस चुनावमा कांग्रेसले बहुमत प्राप्त गरे सबल आर्थिक नीति निर्माण गरी खस्किएको अर्थतन्त्रलाई सही बाटोमा ल्याइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। कांग्रेसको नेतृत्वमा विकास र समृद्धि सम्भव रहेको नारालाई आत्मसात् गर्दै रुख चिन्हमा मतदान गर्न उहाँले आम मतदातासमक्ष अपिल गर्नुभयो।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका २५ जना युवालाई उम्मेदवार रुङ्गटाले अविरको टीका र फूलमाला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।
घरदैलो तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष ढकाल, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादवलगायत वरिष्ठ नेता, कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।













