वीरगन्ज-
नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयामा चुनाव लक्षित सम्पर्क कार्यालयको उद्घाटन गरेकी छन्। बुधबार साँझ आयोजित एक विशेष समारोहका बीच उम्मेदवार यादवले रिबन काटेर कार्यालयको विधिवत् शुभारम्भ गरेकी हुन्।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले चुनावी गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र मतदातामुखी बनाउन सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको बताइन्।
“चुनावी अभियानलाई सहज र व्यवस्थित ढंगले सञ्चालन गर्न यो कार्यालय खोलिएको हो,” यादवले भनिन्, “यहाँबाट मतदातासँग प्रत्यक्ष समन्वय गर्ने, उहाँहरूको सुझाव संकलन गर्ने र कार्यक्रम व्यवस्थापन गर्ने कार्य हुनेछ।”
कार्यक्रममा एमाले पर्साका सचिव महेश दासले वडा नम्बर ३ मा छिट्टै वृहत चुनावी भेला तथा घरदैलो कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उनले चुनाव अवधिभरका लागि स्थापना गरिएको यस अस्थायी कार्यालयले संगठन परिचालन र चुनावी रणनीति कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
त्यस्तै, समानुपातिक उम्मेदवार बिचारी यादवले वडा नम्बर ३ मा एमालेको बलियो पकड रहेको दाबी गर्दै रिमा यादवलाई विजयी गराउन अपिल गरिन्। उनले जिल्ला सचिव महेश दास, महानगर कार्यवाहक अध्यक्ष लियाकत अली, मेयर राजेशमान सिंह र वडा अध्यक्ष वैजु स्वर्णकारको प्रभाव रहेको क्षेत्र भएकाले यहाँबाट एमालेले भारी बहुमत पाउने जिकिर गरिन्।
कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य विजय सरावगीले जसपाका नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेसँगै संगठन झन् सुदृढ बनेको उल्लेख गरे। उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा रिमा यादवलाई अत्यधिक मतले विजयी गराउन मतदाताहरूसँग आग्रह गरे।
कार्यक्रममा एमाले नेताहरू जयनारायण सिंह कुर्मी, सिता लामा, अजय साह, महमद निजाम, राकेश महतो, पिन्टु उपाध्याय, प्रदुमन यादव लगायतका नेता-कार्यकर्ता तथा स्थानीय बासिन्दाहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।
छपकैयामा सम्पर्क कार्यालय स्थापना भएसँगै एमालेले वडा नम्बर ३ मा आफ्नो चुनावी अभियानलाई थप सशक्त बनाएको छ।













