२०८२ माघ २८ गते, बुधबार २३:२१

पर्सा क्षेत्र नं. ३ मा चुनावी तातोपतो: उम्मेदवार पाण्डेको ‘दक्षता’ माथि प्रश्नचिन्ह, सामाजिक सञ्जालमा ‘नटवरलाल’ को संज्ञा

वीरगन्ज-

निर्वाचनको मिति नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर ३ को राजनीतिक माहोल निकै गर्माएको छ। आफूलाई स्थानीय समस्याको मसिहा र वर्षौंदेखि जनताको सेवामा समर्पित भएको दाबी गर्ने उम्मेदवार रुपेश पाण्डे यतिबेला आफ्नै अभिव्यक्ति र कार्यशैलीका कारण विवादको घेरामा तानिएका छन्।

दाबी ठूलो, तयारी शून्य?

पाण्डेले आफू यस क्षेत्रको सम्पूर्ण समस्या समाधान गर्न सक्षम रहेको र विगतदेखि नै काम गरिरहेको दाबी गर्दै आएका छन्। तर, हालैको एक चुनावी चर्चा र अन्तर्वार्तामा उनले आफ्नो स्पष्ट धारणा राख्न नसक्दा मतदाताहरूमाझ उनको ‘बौद्धिक दक्षता’ माथि नै गम्भीर प्रश्न खडा भएको छ। जनताको मुद्दामा स्पष्ट भिजन नहुनु र प्रश्नहरूबाट भाग्नुले उनको उम्मेदवारीलाई केवल ‘खोक्रो आश्वासन’ को रूपमा हेरिन थालिएको छ।

नटवरलाल’ को संज्ञा र सामाजिक सञ्जालमा चर्चा

केही दिनअघि नेपाल पत्रकार महासंघका सह-सचिव सोनालाल चौरसियाले आफ्नो फेसबुक स्टाटसमा पाण्डेलाई ‘नटवरलाल’ को संज्ञा दिएपछि यसले राजनीतिक वृत्तमा ठूलो हलचल पैदा गरेको छ। सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाटै यस्तो कडा टिप्पणी आउनुले पाण्डेको छविमा ठूलो धक्का पुगेको विश्लेषण गरिएको छ।

सम्पत्तिको रहस्य: कसरी बने छोटो समयमै ‘करोडपति’?

आम सर्वसाधारण र मतदाताहरूबीच अहिले एउटै प्रश्न व्याप्त – “पाण्डेको अस्वाभाविक सम्पत्ति कहाँबाट आयो?” निकै छोटो समयमा उनले आर्जन गरेको करोडौँको सम्पत्तिलाई लिएर स्थानीय स्तरमा अनेकौँ शंका-उपशंका उब्जिएका छन्। विना कुनै ठोस व्यवसाय वा पारदर्शी आयस्रोत यति ठूलो रकम जोडिनुले उनको पृष्ठभूमि र इमानदारितामाथि औँला ठड्याइएको छ।

पोडकास्ट सुन्नुहोस