वीरगन्ज-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जनलहर बढ्दै गएको छ । यसै क्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत सुखचैनामा आज आयोजित एक भव्य कार्यक्रमका बीच विभिन्न पेसा र व्यवसायमा आबद्ध एक ठूलो समूह रास्वपामा प्रवेश गरेको छ ।
सुखचैनामा भएको उक्त पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरूलाई रास्वपाका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि पन्तले घण्टी उपहार दिएर र खादा ओढाएर स्वागत गर्नुभयो । पार्टी प्रवेश गर्नेहरूमा स्थानीय बुद्धिजीवी, व्यवसायी र युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
नवप्रवेशीहरूलाई स्वागत गर्दै उम्मेदवार हरि पन्तले सुखचैनाको यो प्रवेशले क्षेत्र नम्बर १ मा रास्वपालाई अझ बलियो र संगठित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “परिवर्तनका पक्षधर नागरिकहरूको यो साथले रास्वपाको जितलाई सुनिश्चित गरेको छ । अब वीरगन्ज र यो क्षेत्रले पुरानो बेथितिबाट मुक्ति पाउने समय आएको छ ।”
पार्टी प्रवेश गर्नेहरूले पुराना राजनीतिक दलहरूबाट विकास र सुशासन सम्भव नभएको महसुस गरी रास्वपाको ‘नयाँ भिजन’ र हरि पन्तको नेतृत्वलाई साथ दिन आफूहरू गौरवका साथ घण्टीमा गोलबद्ध भएको बताएका छन् ।
यस प्रवेशसँगै पर्सा क्षेत्र नम्बर १ मा रास्वपाको चुनावी माहोल झनै तातिएको छ । कार्यक्रममा रास्वपाका स्थानीय नेता, कार्यकर्ता र समर्थकहरूको ठूलो उपस्थिति रहेको थियो ।













