पर्सा-
आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्लाभरका सबै मतदान स्थलहरूलाई प्रविधिमार्फत निगरानी गर्ने तयारी प्रहरीले गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतका अनुसार जिल्लाका कुल १६७ वटा मतदान स्थलहरूलाई आगामी फागुन १७ गतेभित्र सीसीटीभी (CCTV) प्रणालीसँग जोडिनेछ। यो प्रविधिमार्फत मतदान स्थलहरूको निरन्तर निगरानी गरिनेछ, जसले फागुन २१ गते हुने मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
“प्रविधिको प्रयोगले सम्भावित सुरक्षा चुनौतीलाई तत्काल पहिचान गर्न र सुरक्षा निकायलाई द्रुत रूपमा परिचालन गर्न मद्दत पुग्नेछ,” प्रवक्ता बस्नेतले भने, “हाम्रो मुख्य उद्देश्य भनेको मतदातालाई भयरहित वातावरणमा मतदान गर्ने सुनिश्चितता प्रदान गर्नु हो।”
सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रहरीले आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन र सम्बन्धित अन्य सुरक्षा निकायहरूसँगको समन्वयात्मक कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ। मतदान केन्द्रहरूको भौतिक सुरक्षाका साथै सूचना संकलन र सूक्ष्म निगरानीलाई पनि तीव्रता दिइएको छ।
प्रहरीले शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र आम सर्वसाधारणलाई सहयोगका लागि अपिल समेत गरेको छ। कुनै पनि शंकास्पद गतिविधि वा सुरक्षा खतरा देखिएमा तत्काल प्रहरीको निःशुल्क नम्बर १०० वा मोबाइल नम्बर ९८५५०९०१३६ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।













