२०८२ फाल्गुन ८ गते, शुक्रबार २०:०३

उम्मेदवार रुङ्गटाको चुनाव प्रचारमा देखिन थाल्यो उत्साह

रानीघाट र श्रीपुरमा फूलको माला र अबिरको टीकाले रुङ्गटाको स्वागत

वीरगन्ज-

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल कुमार रुङ्गटाको चुनावी प्रचारप्रसारमा व्यापक उत्साह देखिएको छ। उम्मेदवार रुङ्गटा सहभागी घरदैलो तथा चुनावी सभाहरूमा कार्यकर्ताहरू नाचगान गर्दै मतदातासँग मत माग्न व्यस्त देखिएका छन्।

यसैक्रममा वीरगन्ज महानगरपालिका वडा नं. ११ मा शुक्रबार अपराह्न आयोजित घरदैलो कार्यक्रममा सहभागी नेता, कार्यकर्ता तथा समर्थकहरू निकै उत्साहित देखिएका थिए। उनीहरूले नाचगानसहित मतदाताहरूलाई रिझाउँदै नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ छापमा मतदान गर्न अपिल गरेका छन्।

नेपाली कांग्रेस वडा नं. ११ का बुथ सभापति मनोज महतोको अगुवाइमा रानीघाटबाट सुरु भएको घरदैलो कार्यक्रम श्रीपुर, दुर्गाटोल र मुर्लीचोक हुँदै निनियुया टोलसम्म पुगेको स्थानीय कार्यकर्ताहरूले बताएका छन्।

पार्टीका नेता तथा कार्यकर्ताको ठूलो उपस्थिति रहेको उक्त घरदैलोका क्रममा उम्मेदवार रुङ्गटाले आम मतदातासँग प्रत्यक्ष भेटघाट गरी रुख छापमा मतदान गर्न आग्रह गर्नुभयो। आफ्नै दैलोमा पुगेका उम्मेदवार रुङ्गटालाई स्थानीय मतदाताहरूले फूलको माला र अबिरको टीका लगाउँदै विजयको शुभकामना समेत दिएका थिए।

घरदैलोका क्रममा मतदाताहरूसँग कुरा गर्दै उम्मेदवार रुङ्गटाले नेपाली कांग्रेसको सरकार बनेमा स्वास्थ्य, शिक्षा र रोजगारीका साथै सुशासन र जवाफदेहितालाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदी, उपसभापति रामनारायण कुर्मी, पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, नगर सभापति मनिन्द्रलाल नेपाली, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, महाधिवेशन प्रतिनिधिहरू दिनेश पन्त, प्रकाश उपाध्याय, किरण सरकारका साथै स्थानीय नेताहरू महेश महतो, सत्यनारायण महतो लगायत पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय भद्रभलादमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

पोडकास्ट सुन्नुहोस