पर्सा-
आगामी निर्वाचनका लागि चुनावी मैदानमा होमिएकी उम्मेदवार रिमा कुमारी यादवले आफ्नो प्रचारप्रसार अभियानलाई तीव्र पारेकी छन्। यसै क्रममा शुक्रबार उनले पर्सागढी नगरपालिका वडा नं. ५ अन्तर्गतका बहुअरावा र हर्दिया क्षेत्रमा भव्य घरदैलो कार्यक्रम सम्पन्न गरेकी हुन्।
घरदैलोका क्रममा उम्मेदवार यादवले मतदाताको घर-दैलोमै पुगेर उनीहरूका गुनासो, समस्या र सुझावहरू प्रत्यक्ष रूपमा सुनेकी थिइन्। स्थानीय बासिन्दासँगको अन्तरक्रियामा उनले यस क्षेत्रको विकासका लागि परम्परागत शैलीभन्दा फरक र जनमुखी योजना आवश्यक रहेको बताइन्।
सम्बोधनका क्रममा यादवले आफ्नो मुख्य एजेन्डा शिक्षा, स्वास्थ्य र कृषि रहेको स्पष्ट पारिन्। “हाम्रो क्षेत्रका बालबालिकाले गुणस्तरीय शिक्षा पाउनुपर्छ, बिरामी हुँदा सुलभ स्वास्थ्य सेवाको पहुँच हुनुपर्छ र किसान दाजुभाइका लागि आधुनिक कृषि प्रणालीको व्यवस्था हुनुपर्छ,” उनले भनिन्, “स्थानीय जनताको जीवनस्तर उकास्नु नै मेरो प्रमुख लक्ष्य हो।”
कार्यक्रममा सहभागी नेताहरू गोकर्ण पाठक, सिंघासन साह तथा पूर्व वडा अध्यक्ष असलम आलम लगायतले पनि सम्बोधन गरेका थिए। उनीहरूले क्षेत्रको समग्र सुदृढीकरण र रोकिएका विकास निर्माणका कामलाई गति दिन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दा, पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। मतदाताहरूले उम्मेदवार यादवलाई फूलमाला र अबिरले स्वागत गर्दै आफ्नो क्षेत्रको समस्या समाधान गरिदिने विश्वास व्यक्त गरेका थिए।













