सर्लाही –
नेपाली कांग्रेसका सभापति गगन कुमार थापा को सक्रिय पहल र नेतृत्वमा सर्लाहीमा कांग्रेसले फेरि एक महत्वपूर्ण राजनीतिक सफलता हात पारेको छ। बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग आबद्ध रहेका सिंहलाई गएराति थापाले स्वयं उपस्थित भई पार्टी प्रवेश गराएका हुन्। सिंहकै निवासमा आयोजित कार्यक्रममा थापाले टीका र माला लगाएर स्वागत गर्दै कांग्रेस अब समावेशी र व्यापक जनआधारसहित अघि बढ्ने सन्देश दिएका थिए।
राजपाबाट मेयर, लोसपाबाट उम्मेदवार, अब कांग्रेसमा
सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा भने राजपाको विभाजनपछि उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मेयर पदका उम्मेदवार बनेका थिए। तर उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामाशंकर कुशवाहासँग पराजित भएका थिए।
राजनीतिक उतारचढावबीच सिंहको कांग्रेस प्रवेशलाई सर्लाहीको शक्ति सन्तुलनमा अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।
गगन थापाको रणनीतिः मधेसमा संगठन विस्तार
थापाले पछिल्लो समय मधेस केन्द्रित रणनीतिलाई तीव्र बनाउँदै आएका छन्। सिंहसँगै बलरा नगरपालिकाका पूर्व वडाध्यक्ष सुशील झा लगायतका दर्जनौँ नेता–कार्यकर्ताले पनि कांग्रेसको सदस्यता लिएका छन्।
यसअघि सर्लाही निर्वाचन क्षेत्र नं. ४ का लोसपाका नेता तथा पूर्व संविधान सभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्रलगायतका नेताहरू पनि कांग्रेस प्रवेश गरिसकेका छन्। लगातार भइरहेका यस्ता प्रवेशले सर्लाहीमा कांग्रेसको संगठनात्मक आधार मजबुत बन्दै गएको संकेत दिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, गगन थापाको व्यक्तिगत सक्रियता र संवादशील शैलीले मधेस क्षेत्रमा कांग्रेसको पुनरुत्थानलाई नयाँ ऊर्जा दिएको छ। सिंहको प्रवेशसँगै सर्लाहीमा कांग्रेसको चुनावी समीकरण थप बलियो बन्ने आकलन गरिएको छ।













