सप्तरी –
एक सात वर्षीया बालिका हराएको खबरले मंगलबार साँझ खड्क नगरपालिका-८ बिसनपुरमा त्रास फैलिएको थियो। तर केही घण्टामै तीव्र अनुसन्धान, मोबाइल ट्र्याकिङ र संयुक्त अपरेसनमार्फत नेपाल प्रहरी ले बालिकालाई सकुशल उद्धार गर्दै अपहरणमा संलग्न युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नेहा खातुन घरबाट हराएपछि परिवारले तुरुन्तै प्रहरीमा उजुरी दिएका थिए। उजुरी लगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरी ले विशेष टोली परिचालन गरी खोजी अभियान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा ३० वर्षीय इम्तियाज अहमदले बालिकाका बुवा इमरान खानलाई फोन गरी फिरौती माग्दै रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा बोलाएको खुलेको छ। प्रहरीले मोबाइल ट्र्याकिङ प्रविधिको प्रयोग गरी संदिग्धको लोकेसन पत्ता लगाएको थियो।
इलाका प्रहरी कार्यालय कल्याणपुर का प्रहरी निरीक्षक संजीव बोगटी र प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको संयुक्त टोलीले खाँडो क्षेत्रमै घेराबन्दी गरी अहमदलाई नियन्त्रणमा लिएको हो।
उनकै बयानका आधारमा सोही स्थानबाट बालिकालाई सकुशल उद्धार गरिएको प्रहरी उपरीक्षक गौतम कुमार केसीले जानकारी दिएका छन्।
पक्राउ परेका अहमदविरुद्ध अपहरण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
बालिकाको सुरक्षित उद्धारसँगै परिवारले राहतको सास फेरेका छन् भने स्थानीयवासीले प्रहरीको तत्परता र कार्यकुशलताको प्रशंसा गरेका छन्। केही घण्टाको सक्रिय अनुसन्धानले ठूलो दुर्घटना टारिएको प्रहरीको भनाइ छ।













