२०८२ फाल्गुन १७ गते, आईतवार १४:०१

बढ्दो जनसमर्थनले उम्मेदवार रुङ्गटा उत्साहित

वीरगन्ज-

निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटाले आफ्नो चुनाव प्रचार अभियानलाई थप तीव्रता दिएका छन्। मतदान हुन अब चार दिन मात्र बाँकी रहँदा रुङ्गटा बिहानैदेखि मतदाताको घरदैलोमा पुगेर नेपाली काँग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न आग्रह गरिरहेका छन्।

आइतबार बिहान वीरगन्ज महानगरपालिका–३१ भेडियाही पुगेका उम्मेदवार रुङ्गटाले घरघरमै पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै मत मागेका छन्। स्थानीय बासिन्दासँग संवाद गर्दै उनले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई ध्यानपूर्वक सुनेका थिए।

पर्सा क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका रुङ्गटाले विकास, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा तथा पूर्वाधार निर्माणलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलो अभियानका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिएको थियो।

नेपाली काँग्रेस पर्साका जिल्ला उपसभापति रामनारायण कुर्मीका अनुसार पछिल्लो समय बढ्दो जनसमर्थनले पर्सा क्षेत्र नं. १ मा काँग्रेसको जित सुनिश्चित हुने संकेत देखिएको छ। उनले शनिबार वीरगन्जको नगवा तथा बेलवामा देखिएको उत्साहजनक सहभागिताले पार्टी थप आशावादी बनेको बताए।

घरदैलो अभियानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार रुङ्गटाले यसपटक आमजनताको व्यापक समर्थन प्राप्त भएको दाबी गरे। उनले नागरिकले उठाएका सुझाव र गुनासालाई आत्मसात् गर्दै सुशासन र समग्र विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।

रुङ्गटाले विगतका जनप्रतिनिधिहरूले प्रचारमुखी राजनीति मात्र गरेको आरोप लगाउँदै पर्सा क्षेत्र नं. १ का ग्रामीण बस्ती अझै पनि सडक, नाला, स्वास्थ्य सेवा जस्ता आधारभूत सुविधाबाट वञ्चित रहेको उल्लेख गरे। उनले दुई पटक निर्वाचित वर्तमान प्रतिनिधिले जनतालाई भ्रममा पारेर जित हासिल गरेको आरोपसमेत लगाए।

उनका अनुसार केही गाउँहरू अझै सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेका छैनन्। सरकारी विद्यालयहरूमा अध्ययन–अध्यापनको गुणस्तर खस्कँदै गएको र स्वास्थ्य संस्थाबाट नागरिकले अपेक्षित गुणस्तरीय सेवा नपाएको अवस्थालाई सुधार गर्न आफू प्रतिबद्ध रहेको उनले बताए।

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार रुङ्गटाले घरदैलो अभियानलाई अझ सशक्त बनाउँदै मतदाताको विश्वास जित्ने प्रयास जारी राखेका छन्।

पोडकास्ट सुन्नुहोस