वीरगन्ज-
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी तीव्र बनेको छ। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तले आफ्नो घरदैलो अभियानलाई थप प्रभावकारी बनाउँदै श्रीपुरदेखि नगवासम्म मजबुत उपस्थिति देखाएका छन्।
वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा रास्वपा निर्वाचन परिचालन समितिका अध्यक्ष त्रिनेत्र गिरिको अध्यक्षतामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उम्मेदवार पन्त स्वयं सहभागी भई घर–घर पुगेर मतदाताका समस्या र सुझाव संकलन गरेका थिए। “राजनीति परिवर्तनका लागि हो, अवसरका लागि होइन,” भन्दै पन्तले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, वीरगन्ज–१६ अन्तर्गत नगवा, इनर्वा र फुलवारी टोलमा पनि व्यापक घरदैलो कार्यक्रम सम्पन्न भएको छ। स्थानीय चन्दन पण्डितको अध्यक्षतामा भएको सो कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिता थियो। स्थानीयले खानेपानी, सडक स्तरोन्नति, नाला व्यवस्थापन र रोजगारीका विषयमा उम्मेदवार पन्तको ध्यानाकर्षण गराएका थिए।
अभियानका क्रममा महिलाहरूको सक्रियता विशेष देखिएको थियो। उनीहरूले सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा सुधारको अपेक्षा राखेका थिए। पन्तले महिला सशक्तीकरण र सहभागितालाई आफ्नो कार्ययोजनाको अभिन्न अंग बनाउने आश्वासन दिए। विशेषगरी परिवर्तनको पक्षमा उभिएको युवा पुस्ताको समर्थनले रास्वपाको अभियानलाई थप ऊर्जा प्रदान गरेको छ।
विगतका प्रतिनिधिहरूले पूरा गर्न नसकेका कामहरू आफूले परिणामसहित सम्पन्न गर्ने दाबी गर्दै पन्तले आफूलाई परिवर्तनको विकल्पका रूपमा प्रस्तुत गरेका छन्। “मत परिवर्तनका लागि मात्र होइन, व्यवस्था सुधारका लागि आवश्यक छ,” भन्दै उनले मतदातालाई सचेत भई निर्णय लिन आग्रह गरे।
क्षेत्र नम्बर–१ मा रास्वपाको बढ्दो जनसमर्थन र संगठनात्मक मजबुतीले यसपटकको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने संकेत गरेको छ। रास्वपाले आगामी दिनमा यो अभियानलाई थप सघन बनाउँदै लैजाने जनाएको छ।













