निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बढाइएको प्रहरी सक्रियताले पर्सामा एक ठूलो सम्भावित दुर्घटना टरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले मध्यरातमा गरेको ‘सर्प्राइज’ चेकिङका क्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मनोज कुमार चौधरीको गाडीबाट विस्फोटक पदार्थ बरामद गरी ठूलो सफलता हात पारेको होा
मध्यरातको त्यो क्षण बुधबार राति करिब ११ बजे पर्सागढी नगरपालिका–३ स्थित बड्नियार चोकमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेको उम्मेदवार चौधरी सवार गाडीलाई रोकेर खानतलासी गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय नजिकै भएको उक्त चेकिङका क्रममा गाडीको डिक्कीभित्र लुकाएर राखिएको अवस्थामा ४ वटा बम जस्तो देखिने शंकास्पद विस्फोटक वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
उम्मेदवारसहित ५ जना पक्राउ विस्फोटक पदार्थ बरामद भएलगत्तै प्रहरीले गाडीमा सवार उम्मेदवार मनोज कुमार चौधरीसहित ५ जनालाई तत्काल नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने अन्यमा नेकपाका नेताहरू सत्यनारायण चौधरी, रामेश्वर मण्डल, सुरज कार्की र गाडी चालक वीरगञ्ज–छपकैया निवासी मुन्ना अन्सारी रहेका छन्। उनीहरू सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
सेनाको टोली घटनास्थलमा घटनाको गम्भीरतालाई हेर्दै प्रहरीले तत्काल नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो। सेनाको टोलीले घटनास्थलमा पुगेर उक्त शंकास्पद वस्तुको प्रकृति परीक्षण र निस्क्रिय पार्ने प्रक्रिया सुरु गरेको छ। सुरक्षाका कारण बड्नियार चोक आसपासको क्षेत्रलाई केही समयका लागि प्रहरीले सिल गरी सर्वसाधारणको आवतजावतमा रोक लगाएको थियो।
प्रहरीको उच्च सतर्कता जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न प्रहरीले सुरक्षा रणनीतिमा कडाइ गरेको छ। उम्मेदवारकै गाडीमा विस्फोटक सामग्री भेटिनुले सुरक्षा चुनौती थपेको भए पनि प्रहरीको समयमै भएको सक्रियताले ठूलो षड्यन्त्र असफल भएको सुरक्षा विश्लेषकहरू बताउँछन्।
हामी निर्वाचन सुरक्षामा कुनै सम्झौता गर्दैनौँ। अपराधी जोसुकै होस्, कानुनको कठघरामा ल्याइनेछ,” प्रहरी स्रोतले भन्यो। पक्राउ परेकाहरूमाथि विस्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको बुझिएको छ। रास्वपाको कार्यालय नजिकै विस्फोटक वस्तु फेला परेको विषयलाई लिएर प्रहरीले राजनीतिक प्रतिशोध वा आपराधिक योजना कुन हो भन्नेबारे गहिरो अनुसन्धान थालेको छ।













