वीरगन्ज-
वीरगन्ज स्थित पञ्चमुखी हनुमान मन्दिर, रेलवे रोड कुम्हालटोलमा श्रीराम कथा आयोजक समितिले आगामी नयाँ वर्षको अवसर पारेर वैशाख महिनामा भव्य रूपमा ‘श्रीराम कथा’ आयोजना गर्ने निर्णय गरेको छ। समितिका संयोजक गौरी प्रसाद गुप्ताको संयोजन तथा स्वामी राजीव रञ्जन भारद्वाजको सानिध्यमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
यस सम्बन्धमा आयोजित बृहत् छलफल कार्यक्रममा स्थानीय समाजसेवी तथा युवा एवं सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। छलफलमा समितिका संयोजक गौरी प्रसाद गुप्ताको अध्यक्षतामा सदस्यहरू मुन्ना सोनी, दीपक गुप्ता, अभिलाष गुप्ता, अमर सर्राफ, रामु रायमाझी, दिपेन्द्र साह, हिमांशु साह, मनोज मिश्रा, अक्षय चौधरी लगायतले आफ्नो धारणा राख्दै कार्यक्रमलाई भव्य र सफल बनाउन आवश्यक तयारी अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
आयोजक समितिका अनुसार श्रीराम कथालाई धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा श्रद्धालु भक्तजनहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ भने कथा वाचनबाट समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास लिइएको छ।
समितिले निकट भविष्यमा कार्यक्रमको मिति, स्थान र अन्य व्यवस्थापन सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्ने जनाएको छ।














