२०८२ चैत्र १० गते, मंगलवार १८:११

८ महिनामै डेढ लाख विद्युतीय चुलो भित्रियो : ग्यास सङ्कटको त्रासले नेपाली भान्सा बदलिँदै

विराटनगर –

पश्चिम एसियामा चुलिँदै गएको भू–राजनीतिक तनावको प्रत्यक्ष असर अब नेपाली भान्सासम्म आइपुगेको छ । अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानसँगको द्वन्द्व चर्किँदा रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण ‘हर्मुज नाका’मा अवरोध सिर्जना भएको छ, जसले विश्वव्यापी रूपमा एलपी ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा संकट निम्त्याएको छ ।

विश्व बजारमै ग्यास अभाव र मूल्यवृद्धिको चाप बढिरहेका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । आधा सिलिन्डर ग्यास वितरणको सरकारी निर्देशन र भरेको सिलिन्डर लिन लामो लाइन बस्नुपर्ने अवस्था देखिन थालेपछि उपभोक्ताहरू विकल्पतर्फ मोडिन थालेका छन् । अहिले बजारमा विद्युतीय चुलो, विशेषगरी इन्डक्सन, तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ ।

विराटनगर–४ की विनिता पोखरेलले लामो समयदेखि इन्डक्सन चुलो प्रयोग गर्दै आएकी छन् । उनका अनुसार यसले खर्च घटाउनुका साथै ग्यास अभावको तनावबाट पनि मुक्त बनाएको छ ।
उनले भनिन्, “सुरुमा ग्यासकै बानी थियो, तर अहिले बिजुलीमा पकाउँदा पैसाको बचत भएको छ । युद्धका कारण ग्यास नआउला भन्ने चिन्ता पनि अब छैन ।”

उनजस्तै अहिले धेरै उपभोक्ता ग्यासका लागि लाइन बस्नुभन्दा सीधै विद्युतीय चुलोतर्फ आकर्षित भइरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इरान–इजरायल द्वन्द्वका कारण खाडी क्षेत्रबाट हुने इन्धन आपूर्तिमा ठूलो जोखिम देखिएको जनाएका छन् । हर्मुज नाकाबाट विश्वको झन्डै एक तिहाइ तरल प्राकृतिक ग्यास ओसारपसार हुने भएकाले त्यहाँको अवरोधले नेपालजस्ता आयातमा निर्भर मुलुकलाई गम्भीर असर पार्ने निश्चित छ ।

यही त्रासले विराटनगर–१२ का आयुष थापालाई पनि इन्डक्सन चुलो किन्न बाध्य बनायो ।
“ग्यास अभाव हुने खबर आइरहेको छ । एउटा सिलिन्डरका लागि लाइन बस्नुभन्दा इन्डक्सन किन्नु सुरक्षित लाग्यो,” उनले भने, “ग्यास त बाहिरबाट आउँछ, तर बिजुली त आफ्नै देशको हो,कम्तीमा खाना पकाउन त रोकिँदैन ।”

व्यवसायीहरूका अनुसार बजारमा विद्युतीय चुलोको माग अप्रत्याशित रूपमा बढेको छ । विराटनगरस्थित अरुण इलेक्ट्रोनिक्सका सञ्चालक अरुण अग्रवाल भन्छन्, “पहिले दैनिक १-२ वटा मात्रै बिक्री हुन्थ्यो, अहिले त १० वटासम्म पुगिसकेको छ । ग्यास अभावको खबरले उपभोक्तामा डर बढेको छ, जसले माग एक्कासि उकालो लागेको छ ।”

भन्सार विभागको तथ्याङ्कले पनि यो प्रवृत्तिलाई पुष्टि गर्छ । चालु आर्थिक वर्षको फागुनसम्ममा मात्रै ३० करोड ४१ लाख रुपैयाँ बराबरका १ लाख ४७ हजार ८६४ थान विद्युतीय चुलो नेपाल भित्रिएका छन् । तीमध्ये २२ करोड २७ लाख रुपैयाँ बराबरका १ लाख ४ हजार ७१७ थान इन्डक्सन चुलो छन् । त्यसैगरी ७ करोड ६७ लाख रुपैयाँ बराबरका ४२ हजार २१८ थान इन्फ्रारेड चुलो र अन्य ९२९ थान विद्युतीय स्टोभ आयात भएका छन् ।

यी उपकरणबाट राज्यले ४ करोड ३३ लाख रुपैयाँभन्दा बढी भन्सार राजस्वसमेत संकलन गरेको छ । माघसम्म १ लाख ३९ हजार ६३३ थान आयात भएकोमा फागुनमा मात्रै थप ८ हजार २३१ थान चुलो भित्रिएको देखिन्छ, जसले मागको तीव्र वृद्धि झल्काउँछ ।

गत आर्थिक वर्षको तुलनामा पनि यस वर्ष आयात दर उल्लेख्य रूपमा बढ्ने संकेत देखिएको छ । अघिल्लो वर्ष २ लाख ३९ हजार १७२ थान चुलो आयात हुँदा ६ करोड ६८ लाख रुपैयाँ राजस्व उठेको थियो । चालु वर्ष अझै पाँच महिना बाँकी रहँदा नै नयाँ रेकर्ड बन्ने आँकलन गरिएको छ ।

नेपालले अहिलेसम्म अर्बौं रुपैयाँ खर्चेर भारतमार्फत एलपी ग्यास आयात गर्दै आएको छ । तर हर्मुज नाकामा हुने अवरोधले भारतमै आपूर्ति प्रभावित हुने सम्भावना बढ्दै जाँदा त्यसको सिधा असर नेपालमा पर्नेछ । यस्तो अवस्थामा स्वदेशमै उत्पादित जलविद्युत प्रयोग बढाउनु नै दीर्घकालीन समाधानका रूपमा देखिएको छ ।

यद्यपि उपभोक्ताहरू विद्युतीय चुलोतर्फ आकर्षित भए पनि विद्युत आपूर्तिको विश्वसनीयता प्रमुख चिन्ताको विषय बनेको छ । मोरङ कटहरीका बब्लु मिश्र भन्छन्, “हामी ग्यासको लाइनबाट मुक्त हुन चाहन्छौँ, तर यदि अघोषित लोडसेडिङ वा लो भोल्टेज भयो भने फेरि समस्या आउन सक्छ ।”

ऊर्जा संकटको संकेतसँगै नेपाली भान्सा विस्तारै परिवर्तनको दिशामा अघि बढिरहेको छ,जहाँ ग्यासको विकल्पका रूपमा विद्युतीय चुलो नयाँ आधार बन्दै गएको छ ।

पोडकास्ट सुन्नुहोस