वीरगन्ज-
जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीले भोग्दै आएका प्रशासनिक झन्झट र अड्चन हटाउन नवनिर्वाचित सांसदहरूले सक्रियता देखाएका छन्। पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त र पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले मंगलबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रत्यक्ष अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा सांसदद्वयले कार्यालयको सेवा प्रवाहबारे विस्तृत जानकारी लिनुका साथै सेवा लिन आएका सर्वसाधारणसँग प्रत्यक्ष संवादसमेत गरे। संवादका क्रममा सेवाग्राहीहरूले एउटै फाइलमा ‘तोक’ लगाउन र स्वीकृत गराउन विभिन्न कोठाहरू धाउनुपर्ने, सानो कामका लागि पनि घण्टौँ कुर्नुपर्ने र प्रक्रिया अत्यन्तै झन्झटिलो रहेको गुनासो पोखेका थिए।
प्रजिअ दाहालसँग सुधारका उपायबारे छलफल
अनुगमनपछि सांसदद्वयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालसँग भेट गरी सेवा प्रवाहमा सुधार ल्याउने उपायहरूबारे छलफल गरे। सो क्रममा प्रजिअ दाहालले सेवालाई प्रविधिमैत्री र सरलीकृत बनाउन चालिएका कदमहरूबारे जानकारी गराउनुभयो। उहाँले कार्यालयको कार्यसम्पादनलाई चुस्त बनाउन र बिचौलियामुक्त वातावरण निर्माण गर्न ‘एकद्वार प्रणाली’ (One-Door System) को अवधारणा अघि सारिएको बताउनुभयो।
लोकतन्त्रको उपहास हुन दिँदैनौँ: सांसद
छलफलका क्रममा सांसदद्वय पन्त र साहले सरकारी अड्डामा जनताले सास्ती पाउनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरे। “हाम्रो मुख्य उद्देश्य भनेकै आम नागरिकले राज्यबाट पाउने सेवा सहज र सम्मानजनक ढंगले पाउनु पर्छ भन्ने हो,” उनीहरूले भने, “प्रजिअले सुरु गर्नुभएको सुधारका कार्यहरूले जनताको चाहना पूरा गर्ने र समयको बचत हुनेमा हामी आशावादी छौँ।”
जिल्ला प्रशासन कार्यालयको सेवालाई जनमुखी बनाउन सांसदहरूले देखाएको यो चासोलाई पर्साका नागरिकहरूले सकारात्मक रूपमा लिएका छन्।













