२०८३ बैशाख २६ गते, शनिबार १९:५७

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठको भव्य समापन: वीरगन्जदेखि जनकपुरसम्म श्रद्धाको सागर

वीरगन्ज-

आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने लोकआस्थाको महापर्व ‘चैती छठ’ आज बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै हर्षोल्लासका साथ समापन भएको छ। काठमाडौँसहित तराईका विभिन्न जिल्लाका नदी, तलाउ र जलाशयहरूमा भक्तजनको ठूलो घुइँचो लागेको थियो।

मंगलबार साँझ अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ्य दिएका व्रतालुहरू रातभर जलाशय किनारमा जाग्राम बसेका थिए। बिहीबार बिहान झुल्के घामलाई अर्घ्य अर्पण गरेपछि चार दिने कठिन व्रत विधिवत् रूपमा सम्पन्न भएको हो।

वीरगन्जको ऐतिहासिक घडीअर्वा पोखरी ,रानिघाटमा छठको विशेष रमझम देखियो। दुलहीझैँ सिँगारिएको पोखरी र नदि  किनारमा हजारौँ भक्तजनले पूजा-आराधना गरे। त्यस्तै, जनकपुरधामका गंगा सागर, धनुष सागर, अरगजा पोखरी र दशरथ तलाउ लगायतका दुई दर्जनभन्दा बढी पोखरीहरूमा व्रतालुको अभूतपूर्व उपस्थिति थियो। सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता र राजविराजमा पनि उल्लासका साथ पर्व मनाइयो।

राजधानी काठमाडौँका गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीका साथै वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा विशेष घाटहरू निर्माण गरी छठ मनाइएको छ। पहाडी र मधेशी समुदायबीचको सांस्कृतिक एकताको प्रतीकका रूपमा छठको आकर्षण काठमाडौँमा पनि बढ्दो छ।

पारिवारिक सुख, शान्ति, कल्याण, चर्मरोगबाट मुक्ति र मनोकांक्षा पूरा हुने विश्वासका साथ सूर्यको उपासना गरिने यो पर्वले समाजमा सद्भाव र बन्धुत्वको सन्देश प्रवाह गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस