वीरगन्ज-
पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरमा भएको प्रहरी जवान विकास चौरसियाको बीभत्स हत्या प्रकरणमा नयाँ तथ्यहरू बाहिर आएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संलग्न रहेको आरोपमा मृतककी पूर्वप्रेमिका र उनका श्रीमान्सहित चार जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्ने अभियुक्तहरू
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा रौतहटको माधवनारायण नगरपालिका–१ निवासी २६ वर्षीय सन्तोष साह, उनकी पत्नी २४ वर्षीया सोनी कुमारी, बारागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह र भारतको दिल्ली निवासी २१ वर्षीय ओमवीर प्रजापति रहेका छन्। पक्राउ परेका सन्तोष र सोनी श्रीमान–श्रीमती हुन् भने विशाल सन्तोषका भाइ र ओमवीर उनका साथी हुन्।
श्रीमती नभएको प्रहरीको पुष्टि
यसअघि केही स्थानीय स्तरमा मृतक र सोनी कुमारी श्रीमान–श्रीमती हुन् कि भन्ने भ्रम सिर्जना भएको थियो। तर, प्रहरीले अनुसन्धानबाट मृतक चौरसिया र सोनी कुमारी श्रीमान–श्रीमती नरहेको स्पष्ट पारेको छ। उनीहरूबीच विवाहअघि प्रेम सम्बन्ध रहेको भए पनि हाल दुवैले छुट्टाछुट्टै ठाउँमा विवाह गरिसकेको र सोनीका श्रीमान् सन्तोष साह नै रहेको प्रहरीले जनाएको छ।
बिदामा आएका जवानको रड प्रहारबाट मृत्यु
सप्तरीमा कार्यरत २७ वर्षीय प्रहरी जवान विकास चौरसिया १० दिनको बिदामा घर आएका बेला यो घटना घटेको हो। आइतबार साँझ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडिको एक घरमा सन्तोष दम्पतीको डेरामा भएको विवादले उग्र रूप लिँदा उनीमाथि फलामको रडले साङ्घातिक प्रहार गरिएको थियो। निर्घात कुटपिटबाट गम्भीर घाइते भएका चौरसियाको उपचारका क्रममा मृत्यु भएको हो।
पत्रकार सम्मेलन गरी विस्तृत खुलाइने
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतका अनुसार घटनाको दिन चौरसिया उक्त स्थानमा किन पुगेका थिए र विवादको वास्तविक चुरो के थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले आज पत्रकार सम्मेलन आयोजना गरी अभियुक्तहरूलाई सार्वजनिक गर्ने र घटनाबारे विस्तृत जानकारी दिने तयारी गरेको छ।














