२०८३ भाद्र २४ गते, बुधबार १५:५१

अमेरिका–इरान तनाव उत्कर्षमा: पाँच तेल ट्यांकरमाथि अमेरिकी हमला, कच्चा तेल १०० डलर नजिक

काठमाडौं –

अमेरिका–इरान युद्ध थप खतरनाक मोडमा पुगेको छ। अमेरिकी सेनाले इरानी कच्चा तेल बोकेका पाँचवटा ट्यांकरमाथि आक्रमण गरेपछि खाडी क्षेत्रमा तनाव चुलिएको छ। सैन्य तनाव बढेसँगै विश्व बजारमा तेल आपूर्ति अवरुद्ध हुने त्रास फैलिँदा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरको संघारमा पुगेको छ।

अमेरिकी सेनाले आफ्ना नौसैनिक पानीजहाजमाथि इरानले दुई दिनमै दुईपटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहारको प्रयास गरेको दाबी गर्दै त्यसको जवाफमा ट्यांकरमाथि कारबाही गरेको हो।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार नेपाली समयअनुसार बुधबार बिहान गरिएको कारबाहीमा चारवटा ट्यांकर ओमानको खाडी र अर्को एउटा ट्यांकर फारसको खाडीस्थित खार्ग टापुनजिकै निशाना बनाइएको थियो।

सेन्टकमले अमेरिकी नौसैनिक पानीजहाजमाथि इरानले गरेका दुवै आक्रमणका प्रयास असफल भएको दाबी गरेको छ। अमेरिकी जहाजहरू सुरक्षित रहेको र क्षेत्रीय समुद्री क्षेत्रमा गस्ती जारी राखेको जनाउँदै सेन्टकमले घटनामा कुनै पनि अमेरिकी सैनिक घाइते नभएको बताएको छ।अमेरिकी सेनाले ट्यांकरमाथि आक्रमण गर्नुअघि जहाजमा रहेका चालक दललाई जहाज छाड्न निर्देशन दिएको जनाएको छ। त्यसपछि गरिएको सैन्य कारबाहीले खाडी क्षेत्रमा तेल ढुवानी र समुद्री सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।

यो कारबाही होर्मुज जलमार्ग वरपर अमेरिकी दबाब तीव्र भइरहेका बेला भएको हो। विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने होर्मुज हुँदै व्यावसायिक जहाज पार गराउन अमेरिकाले सुरक्षा प्रदान गरिरहेको छ भने इरानी बन्दरगाहमाथि नौसैनिक नाकाबन्दीसमेत कायम राखेको छ।

अमेरिकी रणनीतिलाई इरानी शासनमाथि आर्थिक दबाब बढाउने उद्देश्यसहितको ‘फुल कोर्ट प्रेस’ अभियानका रूपमा प्रस्तुत गरिएको छ।

इरानको जवाफी प्रहार, २० क्षेप्यास्त्र प्रहार

आफ्ना तेल ट्यांकरमाथि अमेरिकी आक्रमणपछि इरानले पनि तत्काल जवाफी कारबाही गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।

इरानले जोर्डनस्थित मुवाफ्फाक सल्ती एयर बेसलाई आफ्नो प्रमुख लक्ष्य बनाएको बताएको छ। उक्त सैन्य आधार अमेरिकी सेनाले समेत प्रयोग गर्दै आएको महत्वपूर्ण सैन्य संरचना हो।

जोर्डनको सेनाका अनुसार इरानबाट प्रहार गरिएका २० ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये १८ वटा हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो। बाँकी दुई क्षेप्यास्त्र मानव बस्ती नभएको क्षेत्रमा खसेका थिए। घटनामा मानवीय क्षति नभएको जोर्डनको दाबी छ।

तर इरानले यतिमै नरोकिने संकेत दिएको छ। उसले अमेरिकी युद्धपोतलाई लक्षित गर्दै थप आक्रमण गर्ने चेतावनी दिएको छ। बहराइन र कुवेतका बन्दरगाहनजिक रहेका तेल ट्यांकरलाई समेत निशाना बनाउन सक्ने धम्कीले खाडी क्षेत्रमा तेल ढुवानी थप जोखिमपूर्ण बन्ने आशंका बढेको छ।

रुबियोको चेतावनी–‘हरेकपटक इरानले ट्यांकर गुमाउनेछ’

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई अमेरिकी नौसैनिक जहाजमाथि आक्रमणको प्रयास नगर्न चेतावनी दिएका छन्।

कोलम्बिया भ्रमणका क्रममा बारान्कियामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले इरानले अमेरिकी नौसैनिक जहाजलाई निरन्तर निशाना बनाउन खोजिरहेको दाबी गरे। उनले इरानले अमेरिकी जहाजमाथि आक्रमणको प्रयास जारी राखे हरेकपटक उसले एउटा तेल ट्यांकर गुमाउने चेतावनी दिएका छन्।

केही दिनअघि सप्ताहन्तमै अमेरिकी सेनाले तीनवटा इरानी कच्चा तेल बोकेका ट्यांकरमाथि आक्रमण गरेको थियो। त्यसअघि आईआरजीसीले अमेरिकी विमानवाहक पोत र निर्देशित क्षेप्यास्त्र प्रहार गर्न सक्ने अमेरिकी विध्वंसक युद्धपोतलाई लक्षित गरी आक्रमणको प्रयास गरेको अमेरिकी पक्षको दाबी थियो।

यसरी केही दिनमै अमेरिकी सेनाले इरानी तेल ढुवानीमा संलग्न कम्तीमा आठवटा ट्यांकरमाथि कारबाही गरेको अमेरिकी पक्षले जनाएको छ।

विमान उद्योगमाथि पनि अमेरिकाको नाकाबन्दी

सैन्य कारबाहीसँगै अमेरिकी ट्रम्प प्रशासनले इरानको विमान उद्योगमाथि पनि व्यापक प्रतिबन्ध घोषणा गरेको छ।

नयाँ प्रतिबन्धबाट २७ इरानी एयरलाइन्स तथा नौ सेवा प्रदायक र बिक्री एजेन्ट प्रभावित भएका छन्। उनीहरूमाथि सन् २०११ देखि अमेरिकी प्रतिबन्धमा रहेको इरानी निजी विमान कम्पनी महान एयरलाई सेवा तथा सहयोग उपलब्ध गराएको आरोप लगाइएको छ।

यसले अमेरिका–इरान संघर्ष अब केवल युद्धभूमि र समुद्रमा सीमित नरही तेल, व्यापार, हवाई सेवा र वित्तीय क्षेत्रमा समेत फैलिँदै गएको संकेत गरेको छ।

तेल बजारमा युद्धको झट्का, १०० डलरको संघारमा मूल्य

अमेरिका–इरानबीचको बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव विश्व तेल बजारमा देखिएको छ। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामाथि थप आक्रमण गरेपछि बुधबार प्रारम्भिक कारोबारमै तेलको मूल्य लगातार चौथो दिन बढेको हो।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेल १.५७ डलर अर्थात् १.६ प्रतिशतले बढेर प्रतिब्यारेल ९९.४९ डलर पुगेको छ। त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य १.६० डलर अर्थात् १.७२ प्रतिशतले बढेर ९४.६३ डलर पुगेको छ।

अगस्टको सुरुदेखि ब्रेन्ट कच्चा तेलको मूल्य करिब २५ प्रतिशतले उकालो लागिसकेको छ। युद्ध तत्काल समाधान हुने सम्भावना कमजोर हुँदै जानु र पुनः सैन्य गतिविधि तीव्र हुनुका कारण विश्व बजारमा तेल आपूर्ति अवरुद्ध हुने चिन्ता थप गहिरिएको छ।

होर्मुजमा संकट बढे विश्वभर तेलको झट्का

पछिल्लो घटनाक्रमले सबैभन्दा ठूलो चिन्ता होर्मुज जलमार्गलाई लिएर पैदा गरेको छ। विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग मानिने यो जलमार्गमा सैन्य तनाव बढ्दा अन्तर्राष्ट्रिय बजारमा तेलको आपूर्ति र ढुवानी प्रभावित हुन सक्छ।

त्यसमाथि रेड सी क्षेत्रमा समेत तेल ढुवानीमा अवरोध देखिएको छ।

तेल ट्यांकरमाथि हमला, क्षेप्यास्त्रको वर्षा र होर्मुजमाथि बढ्दो सैन्य दबाबले अमेरिका–इरान युद्धलाई अब क्षेत्रीय संघर्षबाट विश्व ऊर्जा संकटतर्फ धकेल्ने जोखिम बढाएको छ। ब्रेन्ट तेलको मूल्य १०० डलरको सीमामा पुगिसकेको अवस्थामा संघर्ष अझ चर्किए विश्वभर पेट्रोलियम पदार्थको मूल्यमा थप उछाल आउन सक्ने चिन्ता बढेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस