बहुमतको अंकगणित मिले पनि नेतृत्वको दाबीले सहमति अनिश्चित
वीरगन्ज –
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मधेश प्रदेशको राजनीति अस्थिर बनेको छ। नयाँ सरकार गठनका लागि एमाले, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल तीव्र बने पनि नेतृत्व र शक्ति बाँडफाँटमा सहमति जुट्न सकेको छैन।
एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारले विगतका सहमति कार्यान्वयन नगरेको र जनताले सरकारको कामको अनुभूति गर्न नसकेको भन्दै समर्थन फिर्ता लिनुपरेको बताए। उनले एमाले, जसपा नेपाल र जनमत पार्टीबीच नयाँ गठबन्धन बनाउने विषयमा छलफल सकारात्मक रहेको जानकारी दिए।
जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले पनि तीनै दलबीच नयाँ सरकार गठनबारे संवाद भइरहेको पुष्टि गरे। प्रदेशसभामा आफ्नो दल सबैभन्दा ठूलो भएकाले सरकारको नेतृत्व जसपाले पाउनुपर्ने उनको दाबी छ। तीनै दलका अध्यक्षबीच केन्द्रबाटै सहमति जुटाउने समझदारी बनेको उनले बताए।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५, जनमतका १२ तथा संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद छन्।
एमाले, जसपा नेपाल र जनमतबीच गठबन्धन बनेमा ६२ सांसदको समर्थन पुग्छ, जुन बहुमतभन्दा आठ बढी हो। तर, नेतृत्व र शक्ति बाँडफाँटमा सहमति नजुटेकाले नयाँ सरकार गठनको प्रक्रिया अझै अनिश्चित छ।
दलहरूबीच बहुमतको अंकगणित मिले पनि सत्ता नेतृत्वको दाबीले मधेश प्रदेशको राजनीतिक अन्योल तत्काल अन्त्य हुने संकेत देखिएको छैन।












