काठमाडौं –
भारतको असम राज्यस्थित गुवाहाटीमा होटलको स्वामित्व र सञ्चालनसम्बन्धी विवादले हिंसात्मक रूप लिँदा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ। गोली लागेर एक जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार राति करिब ९ बजे गुवाहाटीको जीएस रोडस्थित बोरा सर्भिसनजिकै रहेको होटल बिलास इनमा गोलीकाण्ड भएको हो। होटलका मालिक र लिजमा लिएर सञ्चालन गर्ने व्यक्तिबीचको विवादका क्रममा गोली चलेको प्रारम्भिक विवरणमा उल्लेख छ।
समाचार एजेन्सी पीटीआईका अनुसार घटनामा छ जनालाई गोली लागेको थियो। गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तले पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको एएनआईले जनाएको छ। प्रहरीका अनुसार गोली चलाउन ३२ बोरको लाइसेन्स प्राप्त पेस्तोल प्रयोग गरिएको थियो। घटनामा प्रयोग भएको हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
असम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटरको दूरीमा रहेको होटलमा भएको घटनाले स्थानीय क्षेत्रमा सुरक्षा चासो बढाएको छ। होटलको स्वामित्व र लिजमा सञ्चालन गर्ने विषयमा उत्पन्न विवाद नै गोलीकाण्डको कारण रहेको प्रारम्भिक विवरणमा उल्लेख भए पनि घटनाको विस्तृत कारण र जिम्मेवारीबारे अनुसन्धान जारी छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।











